नेकपा फुटेमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छः बाँस्कोटा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने र जनताले पनि साथ दिँदैनन् भने ।

सांसद बाँस्कोटाले नेपालको इतिहासमा कम्युनिष्टले पहिलो पल्ट बहुमतको सरकार बनाएको जनाउँदै राष्ट्रिय सार्वभौमिकताका लागि एक भइरहन सबैलाई आग्रह गरे । उनले प्रश्न गरे, ‘वर्तमान सरकारले गणतन्त्रन्त्रलाई स्थायित्व गरिरहेका सन्दर्भमा यही बहुमतको सरकार हटाएर के भनी जनताको बीचमा जाने ?’



बाँस्कोटाले देश र जनताका बाँकी कार्यभार पूरा गर्न तथा भावी पुस्तालाई सबल पार्टीका रुपमा प्रस्तुत गर्नुपर्ने ठूलो चुनौती रहेको बताए । उनले भने ‘जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई आत्मसात् गर्नुपर्छ, सबै समस्या हल हुँदै जान्छन् ।’ उनले भण्डारीको विचारलाई जनताको मनमनमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।

सम्बन्धित समाचार