नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।
गत शुक्रबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लिएर नेकपा फुटको अन्तिम चरणमा रहेको विश्लेषण गरिएको छ । नेताहरूले हत्तपत्त आफ्नै शीर्ष नेताको विरूद्ध सार्वजनिक कार्यक्रममा त्यो हलसम्मको अभिव्यक्ति दिँदैनन् । गत शुक्रबार सार्वजनिक कार्यक्रममै प्रचण्डले ओलीकै इशारामा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको भन्दै नेकपा कठिन परिस्थितिमा रहेको बताए । यता नेपालले भने कसैले पार्टी फुटाउलाकी भनेर थुरथुर काम्नुपर्ने अवस्था नरहेको बताए ।
शुक्रबार सो कार्यक्रममा जानुअघि प्रचण्डले ओलीलाई भेटेका थिए । सो भेटमा ओली प्रचण्डबीच आरोप प्रत्यारोप नै चलेको थियो । खासगरी मंसिरमा महाधिवेशन गर्ने विषयमा मौखिक सहमति भएपछि पनि सो निर्णयबाट पछि हटेको र नेपाल पक्षसँग आगामी निर्वाचनसम्म सहकार्यको सहमति गरेकोमा प्रचण्डप्रति ओलीले चित्त दुखाएका थिए । ‘तपाईको ढुलमुले प्रवृत्तिले पार्टीको नेतृत्व गर्न सक्दैन । तपाईको बोलीको ठेगान नै छैन । आज यता ठिक्क पार्नुभएको छ, भोलि उता । तपाईंको व्यवहारले म फ्रस्टेड भएँ । अब आफ्नो बाटो लाग्छु’ ओलीको भनाई उध्रित गर्दै बालुवाटार स्रोतले भन्यो ।
ओलीले फार्टी फुटाउने स्पष्ट सन्देश दिएपछि प्रचण्डले ‘बालुवाटारमै, नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गरेकै दिन तपाईले पार्टी फुटाउँदै हुनुहुन्छ भन्ने थाहा थियो । तर पनि जनता र नेता कार्यकर्ताको भावनामा ठेस नपुगोस् भनेर विवाद समाधानको पहल गरेको हुँ । तपाई आ–आफ्नै सुर गरौं भन्नुहुन्छ भने म के गर्न सक्छु र ?’ भन्दै प्रचण्डले प्रतिप्रश्न गरेका थिए । ओलीसँगको भेट सौहार्दपूर्ण नभएपछि प्रचण्ड लगत्तै पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न पुगेका थिए ।
नेता नेपाल पनि सोही कार्यक्रममा रहेकोले प्रचण्डले सम्बोधन अघि ओलीसँग भएका कुराकानी सुनाएको थिए । प्रचण्ड र नेपालले मञ्चबाटै ओलीविरूद्ध आक्रमक अभिव्यक्ति दिने सल्लाह गरेर नै सम्बोधन सुरू गरेका थिए । सो सम्बोधनको क्रममा प्रचण्डले ओलीकै इशारामा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको मात्र आरोप लगाएनन्, नेपालको नयाँ नक्शा पनि आफुले पार्टीमा निर्णय गराएपछि बाध्य भएर ओलीले सरकार प्रमुख हुनुको नाताले जारी गरेको बताए ।
प्रचण्ड र नेपालले शुक्रबार ओलीविरूद्ध आक्रमक अभिव्यक्ति दिएपछि यतिबेला नेकपाका दोस्रो तहका नेताहरूबीच सामाजिक सञ्जालहरूमा दोहोरी नै चलेको छ । ओलीनिकट नेताहरू प्रचण्ड र नेता नेपाल विरूद्ध विभिन्न खालका आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसकारण विवादमा हेलिरहेको नेकपा थप संकटमा पुगेको छ ।
प्रचण्ड र नेपाल समूहले महाधिवेशन र आगामी निर्वाचनसम्म कार्यगत एकता गरेर अगाडि बढ्ने सहमति गरेपछि ओली समूह महाधिवेशन टार्ने रणनीतिमा थियो । पार्टी फुटाउने अवस्था नआएमा महाधिवेशन रोक्ने र प्रचण्ड नेपाल समूहमा फुट ल्याउन आवश्यक रणनीति बनाउन ओली समूह व्यस्त थियो । त्यही बेलामा प्रचण्ड र नेपालले ओलीविरूद्ध नकारात्मह अभिव्यक्ति दिएपछि ओली समूहले यसैलाई हतियार बनाएर थप भाँढभैलो मच्चाउन उद्यत देखिएका छन् ।