नवकान्तिपुर संवाददाता
जनकपुरधाम, ११ साउन ।

जनकपुरधामको एक रेष्टुरेन्टबाट दुई महिलासहित चारजना पक्राउ परेका छन् । शनिबार राति जनकपुरधामको शिव चोक स्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ताहरुले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले दुई महिलासहित चार जनालाई पक्राउ गरेको थियो ।
जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नविन यादव र दुई महिलासहित चारजनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले दुईजना महिलालाई जिस्क्याउँदैँ दुर्व्यवहार गरेको पीडित महिलाको बयानको आधारमा पक्राउ गरेको उनले स्पष्ट पारे । यता उनलाई छोडाउनका लागि राति देखि नै प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखले दबाब दिइरहेको प्रहरी स्रोतले जनाएको छ ।

