नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले श्रावण ११ गते एक विज्ञप्ति प्रकाशन गरी प्रजातन्त्रवादी प्राध्यपक संघले विगत केही समयदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयलगायत अन्य विभिन्न निकायहमा लगाएको तालाबन्दीप्रति दुःख व्यक्त गर्दै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न अपील गरेको छ ।
त्रिवि प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. वसन्त ढकाल र महासचिव केशवराज शर्माद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ– ‘बन्दाबन्दीका कारण लामो समयदेखि मारमा परेको विश्वविद्यालय पूर्ण रूपमा सुचारु हुन नपाउँदै तालाबन्दीको अवस्था सिर्जना हुनु र दैनिक कामकाजसमेत अवरुद्ध हुनु दुःखद् हो, तसर्थ तालाबन्दी गर्ने पक्षसँग यथाशीघ्र छलफल तथा वार्ताको माध्यमद्वारा समस्याको समाधान गरी दैनिक कामकाज सुचारु गर्न विश्वविद्यालय पदाधिकारीसँंग त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति जोडदार माग गर्दछ ।’
‘प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पनि विश्वविद्यालयभित्र रहेको एउटा वैचारिक संघ हो, त्यसर्थ पनि विश्वविद्यालयभित्र रहेका सबै वैचारिक संघ संगठनहरूको आफ्नै मूल्य र मान्यता छ । यस्ता संघ संगठनहरूले राखेका मागहरूप्रति विश्वविद्यालय पदाधिकारीहरू उदासिन हुन हुँदैन भन्ने हाम्रो ठहर छ । प्राध्यापक संघ लगायत सम्पूर्ण वैचारिक तथा प्राज्ञिक संघ संगठनलाई विश्वासमा लिई अघि बढ्नु विश्वविद्यालयको दायित्व हो भन्ने त्रिवि प्राध्यापक संघको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ ।


