नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।
सुडानले हिंसात्मक घटना बढेपछि डाफुर क्षेत्रमा थप सैनिक पठाउने तयारी गरेको छ । प्रधानमन्त्री अब्दाल्ला हाम्दोकले थप भएको सुरक्षाकर्मीले खेतीपातीको सिजनमा डाफुरका मानिसको रक्षा गर्ने बताएका छन् । बन्दुकधारीले डाफुरमा शनिबार ६० जना भन्दा बढीको हत्या गरेका थिए । त्यसको अघिल्लो दिन अरु २० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
डाफुरका धेरै गाउँहरु आक्रमणकारीले जलाएका छन् । स्थानीय बजारमा लुटपाट भएको पनि संयुक्त राष्ट्रसंघ अन्तर्गतको कोअर्डिनेशन अफ ह्युम्यानेटेरियन अफिअर्स (ओसिएचए) ले जनाएको छ । पछिल्लो दिनमा डाफुरका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधि बढेपछि खेतीपातीको सिजनमै पनि मानिसहरु विस्थापित भएको ओसिएचएले उल्लेख गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन ।
डाफुरमा पछिल्लो दुई दशकदेखि हिंसा जारी छ । यो हिंसाका कारण झण्डै तीन लाख मानिसको ज्यान गएको र २० लाख भन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसंघको भनाई छ । डाफुरमा गएको वर्ष सत्ताच्यूत भएका तत्कालीन राष्ट्रपति ओमार अल–बाशिर समर्थक सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त हुने गरेको थियो । ओमारमाथि युद्ध अपराधको अभियोग छ र उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) मा मुद्धा छ ।
७६ वर्षका ओमार गएको हप्ता सन् १९८९ को सैन्य कूलाई लिएर दायर मुद्दाको सुनुवाईका क्रममा अदालत उपस्थित भएका थिए । सोही सैन्य कूबाट सत्तामा आएका उनी दोषी ठहर भएमा मृत्युदण्ड हुने छ ।