नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

विभिन्न तहबाट चौतर्फी दबाबपछि सरकारले साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो । लकडाउन खुला गरिएसँगै काठमाडौं उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । सरकारले लकडाउन त अन्त्य गर्यो तर कोरोना संक्रमणको दर घटेको छैन । यसको बदला असन, महाबौद्ध जस्ता घना वस्ती र व्यापारिक केन्द्रमा पनि संक्रमण देखिएको छ ।
कोरोना संक्रमणको नियन्त्रणको लागि सरकारले परिक्षणको दायरा बढाउनुपर्ने थियो तर उसले परिक्षणको दायरा घटाएको छ । काठमाडौं जिल्ला प्रशासन प्रमुख जनकराज दाहाल स्वास्थ्य सम्बन्धी मापदण्ड लागू नै नभएकाले कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने बताउँछन् ।
‘सरकारले लकडाउन खोलेको हो तर कोरोनाको जोखिम सकियो भनेको छैन । कोरोना संक्रमणबाट बच्न ल्याइएका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नै भएन’, सिडिओ दाहाल भन्छन् । देशभर पछिल्लोपटक आइतबार एक सय ३० जना संक्रमित थपिएका थिए । राजधानीमा मात्र ८ जना थपिएका थिए ।
सरकारले गत असार २६ गतेदेखि उपत्यकामा तीन जिल्लाभित्र र अरु जिल्लामा सवारी साधान चलाउन पाउने निर्णय गरेको थियो । निजी सवारी साधन भने त्यस अघि नै खुला गरिएका थिए । त्यसैगरी अगागामी भदौ १ गते देखि लामो दुरीका पनि सवारी साधन चलाउने निर्णय भइसकेको छ । सवारी साधन खुलेसँगै लकडाउन भएर वा त्यो भन्दा अघि आफ्ना घर गएका मानिसहरु काठमाडौं फर्कने क्रम तिव्र रुपमा बढेको छ ।
तर उपत्यका फर्कदा कोरोना मुक्त भएको प्रमाणपत्र र आफू बस्ने स्थानीय निकायको अनुमति चाहिनुपर्ने व्यवस्था भए पनि यसको कार्यान्वयन पक्ष प्रभावकारी नभएको अधिकारीहरु बताउँछन् । काठमाडौं जिल्ला प्रशासन प्रमुख दाहाल भन्छन्, ‘मास्क लगाएर हिँडदिनुस्, सामाजिक दुरी कायम गरिदिनुस् भनेका छौँ । भिडभाडमा नजानुस् भनेका छौँ । यो हाम्रै लागि हो । तर मानिसहरु सामान्य अवस्थामा जसरी हिँडिरहेका छन् ।’
बाहिरबाट काठमाडौं आउँदा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले परीक्षण र स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरे ।’ प्रशासन, स्थानीय निकायले मात्र सावधानी अपनाएर हुँदैन, मानिसहरु आफै सचेत हुनुपर्छ’, बाहिरबाट मानिसहरु उपत्यका भित्रिरहेको र लामो दुरीका सवारी साधन चल्ने निर्णयतर्फ इंगित गर्दै उनले भने ।
लकडाउन खुलेसँगै राजधानीका अधिकांश क्षेत्रमा भिडभाड देखिन्छ । सामाजिक दुरी कायम गरिएको पाईदैन। यात्रुबाहक सवारी साधनमा समेत मानिसहरु बाक्लिएका छन् । सरकारले एउटा कोरोना संक्रमित देखिंदा देखासिकी गरी लकडाउन गरेको थियो भने दिनहुँ सयौं कोरोना संक्रमित देखिंदा लकडाउन खोलेको छ, यसलाई हामीले बिडम्बना नै मान्नुपर्दछ ।

