नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
चीनकै बुहान शहरबाट फैलिएको कोरोना भाइरस फेरि चीनमै फैलिएको छ । चीनमा सोमबार एकै दिन ६४ जना स्थानीयसहित ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पाँच महिना यता चीनमा एकै दिन स्थानीय रुपमा संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा थपिएको हो । ६४ स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको चीनका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाबाट विश्वभरमा भने १ करोड ६६ लाख ४८ हजार ६१६ जना संक्रमित भएका छन् । ज्यान गुमाउनेको संख्या भने ६ लाख ५६ हजार नाघेको छ । १ करोड २ लाख मानिस भने उपचारपछि निको भएका छन् ।