नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् । काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरुको सोमबार साँझ सम्पन्न बैठकले गत निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक/समर्थक बस्ने सबैजना विधानतः स्वतः पार्टीबाट बर्खास्त हुने प्रस्ट व्यवस्था हुँदाहुँदै हालै गरिएको कारवाही रोक्न माग गरेको हो ।
बैठकले स्थानीय तह पार्टी समायोजन सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोकलगायत जिल्लामा खेलेको भूमिकामा पार्टीको नीतिभन्दा नेता प्रभावको गन्ध देखिएको भन्दै निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ । पार्टीको आगामी १४औँ महाधिवेशनको सफलता र प्रभावकारितालाई सुनिश्चित गर्नेगरी सबै जिल्लाका जनता र स्थानीय सङ्गठनको तल्लो तहसम्म पार्टीको सैद्धान्तिक, वैचारिक, साङ्गठनिक र अग्रगामी नीतिनिर्माणको सवालमा अर्थपूर्ण संवादलाई तीव्रताका साथ अघि बढाउने बैठकले निर्णय गरेको छ ।
पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा पार्टीका विभाग वा समिति गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकता र परम्पराविरुद्ध भएकाले यसबीच बनाइएका सबै विभाग र समिति खारेज गर्नुपर्ने निर्णय गरेको नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
पार्टीका जिल्ला सभापतिहरुको हेटौँडा, हलेसी र ककनी भेला तथा पार्टीको आठौँ महासमिति बैठकमा पार्टीको तल्लो तहबाट उठेका विषयलाई आगामी महाधिवेशनमा विधिवत् प्रस्तावका रूपमा अघि बढाउने बैठकले निर्णय गरेको उनले बताए । बैठकले पार्टीको १३औँ महाधिवेशनमा सम्पूर्ण विधि/प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका सदस्यहरुको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउनुपर्ने, अत्यावश्यक थप क्रियाशील सदस्यता पार्टी प्रणालीअनुसार पठाउने र कुनै बहानामा अन्य बाटोबाट क्रियाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य हुन नहुने कुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ ।
पार्टीपार्टी बीचको एकीकरण, पार्टी समूह वा व्यक्तिको काँग्रेस प्रवेश कार्यलाई निष्ठावान् नेता र कार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाइदाका लागि पार्टीलाई दीर्घकालीन क्षति पु¥याउने वा अन्य अभीष्ट पूरा गर्ने अपारदर्शी कदमका रूपमा अघि बढाउने काम नहोस् र एकदुई वा केही नेताको प्रवेशको आडमा सयौँ सङ्ख्यामा क्रियाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस् भन्नेतर्फ बैठकले नेतृत्वलाई सचेत गराएको छ ।
बैठकले जनताको आवाज बोल्ने र बोक्ने अभिप्रायले छायाँ सरकारको अभ्यास समेतमा उत्रिसकेको प्रमुख प्रतिपक्षी दल सौदाबाजी शक्तिका रूपमा देखिनु आत्मघाती हुने भन्दै त्यस्ता मनसाय वा भ्रमलाई चिर्दै सशक्त जनपक्षीय प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
काठमाडौंमा उपलब्ध संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको सोमबार बेलुकी सम्पन्न बैठकले गरेका निर्णयहरु :
१. पार्टीको आगामी १४ औं महाधिवेशनको सफलता र प्रभावकारितालाई सुनिश्चित गर्नेगरी सबै जिल्लाका जनता र स्थानीय संगठनको भुईं तहसम्म निरन्तर उठवसमा रहेका सबै नेता एवं साथीहरुसँग पार्टीको सैद्धान्तिक, वैचारिक, सांगठनिक र अग्रगामी नीति निर्माणको सवालमा अर्थपूर्ण संवादलाई तिब्रताका साथ अघि बढाउने ।
२. १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा बाहेक विभाग वा समितिहरु गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकता र हाम्रै ऐतिहासिक परम्पराविरुद्ध भएकाले यस्ता लोक हसाउने, भद्दामजाक कर्म तत्काल रोक्नुपर्ने र यसबीच बनाइएका सबै विभाग र समितिहरु खारेज गर्नुपर्ने ।
३. पार्टी सभापतिहरुको हेटौंडा भेला, हलेसी भेला, ककनी भेला र पार्टीको आठौं महासमिति बैठकमा पार्टीको भुईं तहबाट उठेका आवाजहरुलाई वाणी प्रदान गर्दै पार्टीको समग्र शुद्धिकरण र सुदृढीकरणका सन्दर्भमा उठान गरिएका विषयहरुलाई आगामी १४ औं महाधिवेशनमा बिधिवत प्रस्तावका रुपमा अघि बढाउने ।
४. निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक–समर्थक बस्ने सबैजना विधानत स्वतः पार्टीबाट बर्खास्त हुने प्रष्ट ब्यवस्था हुँदाहुँदै पनि महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेपछि यतिखेर आएर एक वा अर्को बहानामा निष्ठावान नेता–कार्यकर्तामाथि छानीछानी कारबाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेकाले यस्ता गतिविधि तत्काल रोकिनुपर्ने ।
५. स्थानीय तह पार्टी समायोजन सम्वन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोक लगायतका जिल्लामा खेलेको भूमिकामा नीतिभन्दा नेता प्रभावको गन्ध आएकाले निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गर्ने ।
६. १३ औं महाधिवेशनमा सम्पूर्ण विधि–प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरुको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउनु पर्ने । अत्यावश्यक थप क्रियाशील सदस्यता पार्टी प्रणाली अनुसार पठाउने र कुनैकस्तै बहानामा अन्य बाटोबाट क्रियाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य हुन नहुने कुरालाई सुनिश्चित गर्ने ।
७. पार्टी–पार्टीबीचको एकीकरण, पार्टी समूह वा ब्यक्तिको नेपाली कांग्रेस प्रवेश कार्यलाई निष्ठावान नेता–कार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाइदाका लागि पार्टीलाई दीर्घकालिन क्षति पु-याउने वा अन्य अभीष्ट पुरा गर्ने अपारदर्शी कदमको रुपमा अघि बढाउने काम नहोस । एकदुई वा केही नेताको प्रवेशको आडमा सयौं संख्यामा क्रियाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस भन्नेतर्फ नेतृत्वलाई सचेत गराउने ।
८. जनताको आवाज बोल्ने र बोक्ने अभिप्रायले छाया सरकारको अभ्यास समेतमा उत्रिसकेको प्रमुख प्रतिपक्षी दल सौदाबाजी शक्तिको रुपमा देखिनु आत्मघाती हुने भएकोले यस्ता मनसाय वा भ्रमलाई चिर्दै सशक्त जनपक्षीय प्रतिपक्षको भूमिका निर्वाह गर्ने ।
९. कम्युनिस्ट अधिनायकवाद, भ्रष्टाचार तथा कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकारी अकर्मण्यताविरुद्ध चरणवद्ध संघर्षमा उत्रिन अत्यावश्यक भइसकेकोले त्यसप्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्ने ।
१०. पार्टीमा लोकतान्त्रिक समाजवादको सामयिक परिभाषा, ब्याख्या, योजना, नीति र कार्यक्रम निर्माणमा नेपाली कांग्रेसका सदस्य र शुभेच्छुक बुद्धिजीवीहरुबीच वैचारिक बहस, संवादलाई तीब्रता दिने र, वर्तमान भ्रष्टाचार–उत्प्रेरक निर्वाचन प्रणालीमा व्यापक सुधार गरी पैसा र पाखुराको प्रभावमुक्त प्रतिनिधित्व प्रणाली सुनिश्चित गर्न क्रियाशील रहने
११. राष्ट्रियताको सवालमा नेपाली कांग्रेसको ऐतिहासिक अडान र प्रतिवद्धता, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अनुरुप सीमा लगायतका यावत समस्याहरु वार्ताको माध्यमबाट देश र जनताको हीतमा समाधान गर्न निरन्तर दबाब दिने ।

