भोलिबाटै सबै होटलहरू खुल्न सक्ने सम्भावना छैन : उपाध्यक्ष शाह

कोराना भाइरसको महामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेसँगै बन्द भएका होटलहरू विहीबारबाट खाल्ने तयारीमा होटल व्यवासयीहरू लागेका छन् । यसअघि सरकारले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्दै होटल, रेस्टुरेन्ट, टे«किङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसायहरू साउन १५ गतेबाट खोल्ने निर्णयसँगै होटल व्यवासयीहरू तयारीमा लागेका हुन् ।

लामो समयको बन्दाबन्दीपछि सरकारले होटल रेस्टुरेन्टहरू खोल्न अनुमति दिएको भएपनि साना, ठूला र मझौला सबैखाले होटलहरू भोलिबाट नै खोल्ने अवस्थामा भने व्यवसायीहरू छैनन् । ठूला हाटेलहरूमा बस्ने गेस्ट अधिकांश पर्यटनहरू नै भएकाले अहिले बाह्य तथा आन्तरिक उडानहरू बन्द रहेका कारण ठूला होटलहरू तत्काल सञ्चालनमा आउन कठिनाइ देखिएको होटल व्यवसायीहरू बताउँछन् ।



होटल एशोसियशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्याक्ष विनायक शाहले भोलिदेखि साना तथा मझौला होटलहरू कुल क्षमताको केही प्रतिशत मात्रै सञ्चालन आउने र ठूला होटलहरू भने अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताए । ‘हवाई उडानहरू अहिले बन्द नै छन्, ठूला होटलहरूमा बस्ने गेस्ट आउने सम्भावना छैन’ उपाध्यक्ष शाहले भने ‘अहिले ठूला होटलहरूका लागि ‘वोइट एण्ड सी’ को अवस्था छ ।’ सरकारले होटलहरू खोल्ने अनुमति पनि दिइसकेकोले अब व्यवसायीहरूले होटलहरू खोल्ने तर अहिले बजारको अवस्था हेरेर विस्तारै बढाउँदै लैजाने उनले बताए ।

कोरोना भाइरसको जोखिम कायमै रहेको अवस्था होटलहरू खोल्दा सुरक्षा सतर्कता पनि अपनाउनु पर्ने भएकाले व्यवसायी, कर्मचारी र होटलमा आउने गेस्टहरूलाई संक्रमणबाट कसरी बचाउने भन्ने विषयमा आफूहरूले जोड दिइरहेको उपाध्यक्ष शाहले बताए । सरकारको होटल व्यवसाय स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार कसरी होटल सञ्चालन गर्ने भन्ने विषयमा कर्मचारी र व्यवासायीहरू बीच गृहकार्य पनि भइरहेको उनको भनाई थियो ।

सरकारले गत साउन ६ गते मध्येरातीबाट गत चैत ११ गतेदेखि जारी लकडाउन अन्त्य भएको बताएको थियो । त्यसको भोलिपल्टबाटै नै केही साना तथा मझौला होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरू सञ्चालमा आइसकेका छन् भने केही तयारीमा जुटिरहेका छन् । चार महिना लामो बन्दाबन्दीपछि सरकारले आगामी भदौ १ गतेबाट छोटो तथा लामो दुरीका सार्वजनिक यातायातहरू खोल्ने निर्णय यसअघि नै गरिसकेको छ । त्योसँगै सरकारले भाद्र १ गतेदेखि नै लागू हुनेगरी आन्तरिक र वाह्य दुबै तर्फका व्यवसायिक उडानसमेत खुल्ला गर्ने निर्णय पनि गरिसकेको छ । होटल व्यवसायीहरूका अनुसार लामो दुरीका सार्वजनिक यातायात र आन्तरिक र बाह्य हवाई उडान सञ्चालनमा आएपछि मात्रै पर्यटकहरू बढ्ने र होटलहरूलाई पनि केही राहत हुने सम्भावना रहेको छ । तर होटल व्यवसाय क्षेत्र सामान्य अवस्थामा फर्कन भने कम्तिमा पनि दुई वर्ष लाग्ने व्यवासयीहरूको बुझाइ छ ।

सम्बन्धित समाचार