नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।

‘इनफ इज इनफ’ अभियानका पाँचजना अभियन्ताहरू गृह मन्त्रालय जान खोज्दा प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतले अभियानका केही व्यक्तिहरु बिनाअनुमति निषेधित क्षेत्रमा भेला भइ भित्र जान खोज्दा पक्राउ गरिएको बताए । बिना अनुमति निषेधित क्षेत्रमा भेला भइ सिंहदरबार प्रवेश गर्न लाग्दा हामी पक्राउ गर्न बाध्य भएको उनको भनाई छ।
उनका अनुसार प्रकाउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । यता, विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेका अनुसार अभियन्ताहरू गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ गरेको आरोप लगाए ।
इनफ इज इनफका अभियन्ताहरु विगत १२ दिनदेखि खाना र पानी त्यागी काठमाडौंको बसन्तपुरमा सत्याग्रहमा बसेका छन् । विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भनी विभिन्न माग राखी उनीहरु सत्याग्रहमा बसेका हुन् ।

