वीरगञ्जमा एकै दिन ३ संक्रमितको निधन, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ पुग्यो

वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो । उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज-१६ नगवाका ३५ वर्षीय युवा र सेवानिवृत्त ६५ वर्षीय कर्मचारीको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

३५ वर्षीय युवाको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा र सेवानिवृत्त कर्मचारीको घरमै ज्यान गएको हो । ज्वरो आउने, श्वासप्रश्वासको समस्या लिएर मंगलबार कोभिड अस्पतालमा भर्ना भएका ती युवालाई स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा हिजो बिहीबार बेलुकी ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिए ।



ज्वरो आएपछि ती युवालाई साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई अस्पताल लगिएको थियो । अस्पतालले त्यसै दिन कोरोना अस्पतालमा रिफर गरेको थियो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। मदनकुमार उपाध्यायले बताए ।

यस्तै हिजो बिहान घरमै मृत्यु भएका वीरगञ्ज-२ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना भाइरसको सङ्क्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो ।

यसैगरी कोरोना पुष्टि भएपछि उपचार गराइरहेका ५६ वर्षका भारतीय नागरिकको पनि राति ज्यान गएको गण्डक अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

सम्बन्धित समाचार