
कैलालीमा बुधबारको अविरल वर्षासँगै आएको बाढीमा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनका अनुसार शाहको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा चिप्लेर बाढीमा बेपत्ता भएका थिए ।
बुधबारको बाढीमा बेपत्ता भएका तीन जना मध्ये बिहीवार भजनी नगरपालिकाको जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव भेटिएको थियो । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरी प्रबक्ता बिष्टले जानकारी दिए । उनले भने–‘आज पानी पनि रोकिएको छ, पानीको लेबल पनि घटेकाले बेपत्ता बिकको खोजी कार्य भैरहेको छ ।’
बुधबार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए । बुधबारको बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए।
ती मध्ये २ हजार भन्दा बढी परिवार विस्थापित रहेका छन् । उनीहरु अहिले विद्यालय, हुलाकी सडक लगायतका ठाउँमा बसिरहेका छन् ।
