
चीनको वुहानबाट गत डिसेम्बरको अन्तिम साता एक व्यक्तिमा देखिएको कोरोना भाइरस यो समाचार तयार पार्दासम्म १ करोड ७४ लाख, ८१ हजार ९ सय ५३ जनामा फैलिसकेको छ । जसमध्ये ६ लाख ७६ हजार ८ सय २४ जनाको मृत्यु भइसकेको छ भने १ करोड ९ लाख ४१ हजार ९ सय ६ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा पनि हालसम्म १९ हजार ५ सय ४७ जनामा कोरोना पुष्टि भइसकेको छ, जसमध्ये १४ हजार २ सय ४८ जनालाई निको भइसकेको र ५२ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले जनाएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अन्य देशको उदाहरणलाई हेर्दै नेपाल सरकारले पनि गत चैत ११ गतेदेखि लकडाउन जारी गर्यो । सुरूमा एक हप्ताको लागि जारी गरेको लकडाउन सरकारले पटकपटक थप्दै चार महिना पुर्यायो । दुई जना कोरोना संक्रमितहरू भेटिएपछि देशभर जारी गरेको लकडाउन अहिले १८ हजारभन्दा बढी संक्रमित हुँदा सरकारले गत साउन ७ गतेबाट नै लकडाउन अन्त्य भएको जानकारी गराइसकेको छ । तर सरकारले जारी गरेको चार महिनासम्मको लकडाउनको समयमा देखिएका घटना परिघटनाहरू कम्ती कारूणिक र दर्दनाक रहेनन् । देशमा लकडाउन जारी रहेकै बेला सरकारका मन्त्रीहरूले आफ्ना नजिककाहरूलाई गृह जिल्ला पुर्याउँदै गर्दा सर्वसाधारणहरू भने भोको पेट, खाली खुट्टा, प्रशासनबाट दुव्र्यवहार सहेर हप्तौंदिन घाम पानी नभनी राजमार्गको बाटो हिँडेका कारूणिक दृश्यहरू पनि देखिए । औषधि किन्न जाँदा लकडाउन उल्लघंन गरेको भनी पुलिसको डण्डा खानेहरू पनि भेटिए तर लकडाउनकै बेला सत्तारूढ दलकै सांसदहरू रातारात उपत्यकाबाहिर गएर नागरिकलाई उपत्यका भित्र्र्याएका घटनाहरू पनि भेटिए । सरकारले आम सर्वसाधारण तथा मजुदुर वर्गका समस्याहरूलाई कतिसम्म बेवास्ता गरिदियो त्यो स्वयम् सरकारका काम कारबाहीले प्रष्ट पारिसकेको छ । तर अब सरकारले लकडाउन खोलिसकेको एक हप्ताभन्दा बढी भइसक्दा के अब दैनिक ज्यालादारी गरेर गुजारा चलाउने मजदुर वर्गहरू पहिलेकै अवस्थामा फर्किएका हुन् ? उनीहरूको अवस्था अहिले कस्तो छ ? के चाहन्छन् उनीहरू ? यस सम्बन्धमा केही प्रतिनिधि पात्रहरूको अवस्थालाई पस्किने प्रत्यत्न गरिएको छ ।
काठमाडौ वसन्तपुर क्षेत्रमा पर्ने एक मन्दिरको छेउवै सुतिरहेका छन् अन्दाजी चालीस, पैतालीस वर्षका तीन जना पुरूषहरू र सँगै मन्दिरमा अडेस लाएर बसिरहेका छन् एक अर्का व्यक्ति । मन्दिरको भित्तामा अडेस लाएर बसेका ती व्यक्तिले कालो मास्क, कालो टोपी लगाएका छन् । विहीबार दिउँसो करिव दुई बजेको समयमा त्यहाँ पुग्दा देखिएको दृश्य हो यो । मैले ती बसिरहेका व्यक्तिसँग केही कुराकानी गर्दैगर्दा सुतिरहेको उनका अन्य साथीहरू पनि उठे ।
उनी अर्थात् ती बसिरहेका व्यक्ति रहेछन्, प्रेम गुरूङ । पोखरा उनको घर रहेछ । उनी घर निर्मार्णको काम गर्दारहेछन् । घरमा पनि विशेषगरी ढलानका काम गर्दारहेछन् । उनले केही समयअघि दोलखा चरिकोटतिर काम गरेको बताए । उनी त्यहाँ काम सकेर पोखरा (आफ्नो घर) गएका थिए । त्यसको केही समयपछि उनलाई काठमाडौंबाट फोन आयो । काठमाडौंबाट फोन गर्ने व्यक्ति चिनजानकै एक ठेकदार थिए । ठेकदारले फोनमा उनलाई काम गर्नका लागि साथीहरू समेत लिएर काठमाडौं आउन भनेपछि उनी काठमाडौं आए । काठमाडौं आउँदा उनको साथमा धेरै पैसा थिएन । ‘त्यो बेला म काठमाडौं आउँदा मसँग धेरै पैसा पनि थिएन, जम्मा एक हजार मात्रै थियो । त्यो पनि गाडीभाडा र बाटोमा खाना खादै सकियो’ उनी सुनाउँन् ।

काठमाडौं आएपछि उनी घरको ढलानको काममा लागे । त्यो बेला उनी काम गर्ने ठाउँ नजिकै एउटा छाप्रोमा साथीहरूसँग बस्थ्ये । काम चलिरहेकै थियो, काम गर्न लागेको पनि केही महिना दिन मात्रै भएकोले पैसा कमाइ भएकै थिएन र पनि ठीकठाक चलिरहेकै थियो । तर कहिले पनि कोरोना भाइरसको नाम नसुनेका र लकडाउन भनेको के हो थाहा नभएका उनलाई एक्कासी यिनै कुराहरूले समस्यामा पार्यो । ‘जिन्दगीभर कहिले यस्तो भएकै थिएन’ उनी भन्छन् ‘अहिले यो के कोरोना रे, भाइरस रे, लकडाउन रे, के हो के हो ?’ लकडाउन भएको केही दिनमै उनीहरूसँग भएको खानेकुरा र साथमा भएको पैसा पनि सकिएछ । ‘लकडाउनमा सबै बन्द भएपछि काम पनि रोकियो, अब भएको पैसा पनि सकियो, खानेकुरा पनि केही छैन । अब के गर्ने ? कहाँ जाने ? कुनै ठेगान थिएन्’ उनी भन्छन् ‘घर जाउ भनेर थानकोटसम्म पनि पुगें तर त्यहाँ पुग्दा प्रहरीले जहाँबाट आएको त्यही फर्कनु भन्न थाले, अनि प्रहरीको डण्डा खानुभन्दा फर्किनु नै ठीक लागेर यतै फर्किएँ ।’
त्यसछि करिब पैतालीस दिनजति उनी पशुपतिमा गएर बसें । लकडाउनको समयमा विभिन्न संघसंस्था र स्थानीय तहहरूले कतै राहत बाँड्थे, कतै खाना खुवाउँथे । उनी पनि जता जता खाना खुवाउने गरेको हुन्थ्यो त्यहाँ गएर खाना खान्थ्ये र साँझपख फेरि पशुपति नै जान्थे । यहाँसम्मको उनको यात्रामा उनी एक्लै थिएनन्, उनका साथी राजन र सुरज पनि थिए । उनका साथी राजनको ६ महिना काम गरेको एक लाख बीस हजार रूपैयाँ एउटा ठेकदारले दिएकै रहेनछ । यहीबीचमा कति दिन त उनीहरूले ठेकदाराको घर खाज्न र ठेकदारलाई पैसा माग्न नारायणथान गए । ‘ठेकदारको घर नारायणनाथ हो भन्ने थाहा थियो तर कहाँनेर हो भन्ने थाहाँ थिएन्’ राजन भन्छन् ‘हामीले ठेकदारको नाम लिएर अरूलाई सोध्दै सोध्दै गयौं, त्यहाँ पुगेर घर पत्ता लगायौं तर ठेकदार घरमा रहेनछ, भेटेनौं ।’

करिब पैतालिस दिन पशुपतिमा बिताएका प्रेम गुरूङ र उनका साथीहरू त्यसपछिका दिनहरू वसन्तपुर क्षेत्रका मन्दिरहरूमै दिन रात बिताइरहेका छन् । ‘कहिलेकाही एक छाक मात्रै खाएर त कहिलेकाहीँ भोकै बसेर पनि दिनहरू कटाइयो’ प्रेम भन्छन् । अहिले त सरकारले पनि लकडाउन अन्त्य भएको भनेको छ तर प्रेम र उनका साथीहरूलाई यसले केही फरक पारेको छैन । उनीहरूको दैनिक अहिले पनि लकडाउनकै समय जसो बितिरहेको छ । अहिले पनि उनीहरू पहिलेको जसरी खाना खुवाउने ठाउँमा गएर खान्छन् र फेरि यही आएर रात कटाउछन् । कतै खाना खुवाउने ठाउँ नभेटे मन्दिरमा आएकाहरूमध्ये कसैले केही खानेकुरा दिए त्यसैले भोक मेट्छन् ।
‘यहाँ (मन्दिर छेउ) बस्ने गरेको पनि धेरै दिन भइसक्यो, कसैले दयामाया गरेर खानेकुरा दिन्छन्, कसैले केही रूपैया दिन्छन् तर त्यही पनि राती सुतेको बेला पकेटमारहरूले चोरी हाल्छन् । अस्ती वहाँ (प्रेम) दाइको साथमा भएको पैसा चोरी भो, यो (सुरज) दाइको घडी चोरी भो ।’ सरकारले लामोदुरीका सार्वजनिक यातायातहरू भदौ १ गतेबाट खोल्ने निर्णय गरेको छ । त्यसैले प्रेम र उनका साथीहरू त्यसैको प्रतीक्षामा छन्, गाडी खुल्छ र घर जान पाइन्छ कि भनेर ।
हुन त उनीहरूलाई घर पुग्न गाडी भाडा पनि छैन, तर पनि पे्रम भन्छन्, ‘लामो दुरीका गाडी खुले हुन्थ्यो, घर त जसरी पनि जान्थ्यौं ।’ उनीहरूलाई अझै लकडाउन भए कति दिनसम्म यसरी नै कटाउने होला भन्ने चिन्ता छ । ‘यो सरकारको केही भर छैन, अहिले लकडाउन खुलेको भने पनि अझ फेरि लकडाउन गर्न पनि सक्छ’, राजन भन्छन् ‘त्यसैले अब जे जस्तो होस्, जसोतसो घर जाने हो, यहाँ नबस्ने ।’ राजनको कुरामा प्रेम र सुरज पनि थप्छन् ‘हो अब जे जस्तो भए पनि काठमाडौंमा बसिँदैन, घर नै जाने हो ।’
काठमाडौं आउँदा केही सपना बुनेर आएका प्रेम र उनका साथीहरूले लकडाउन र अन्य कारणले पनि विभिन्न समस्याहरू झेल्नु पर्यो । सपनाको शहर भन्ने गरेको संघीय राजधानी काठमाडौंमा अहिले उनीहरू यसरी केही थान सपनाहरू अन्त्य गरेर घर फर्किने तयारीमा छन्, कहिले पनि काठमाडौं नफर्किने गरेर ।
