प्रचण्ड पार्टी एकताप्रति गम्भीर रहेको पाएँँ: ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । आज आफूनिकट नेताहरुसँग बालुवाटारमा परामर्शको क्रममा ओलीले प्रचण्ड पार्टी एकताप्रति गम्भीर रहेको पाएको बताएका हुन् ।

ओलीले गत मंगलबारको बैठकमा प्रचण्डले खेलेको भूमिकाबारे प्रशंसा गरेका थिए। सो बैठकबाट पार्टी फुटको अवस्था सिर्जना हुनसक्ने अवस्था रहेकोमा अन्तिम बिन्दुमा प्रचण्डले जोगाएको भनी ओलीले ती नेताहरुलाई ब्रिफिङ गरेका थिए। ओलीले प्रचण्डले बैठक सञ्चालन गरेपनि त्यहाँ सन्तुलन कायम राखेर पार्टी विभाजन हुनबाट रोकेको बताएका थिए।



‘प्रचण्डजीले बैठक त राख्नुभयो तर, त्यहाँ जे कुरा उठाउनुभयो, त्यसले पार्टी एकताप्रति उहाँ गम्भीर रहेको पाएँँ,’ बालुवाटारमा ओलीको भनाई सुनेका अर्का नेताले भने, ‘बैठकले बहुमतबाट कुनै निर्णय गरेर अघि बढेको भए परिस्थिति अर्कै भइसक्थ्यो, स्थितिलाई पोजिटिभ ढंगबाट कुलडाउन गराएर प्रचण्डजीले राम्रो भूमिका खेल्नुभयो।’

त्यसो त सोहि छलफलमा सहभागी अर्का एक नेताले सो कुराकानीमा प्रचण्डनिकट नेताहरुसमेत भएका कारण ओलीले त्यसप्रकारको अभिव्यक्ति दिएको हुनसक्ने बताए। बुधबार ओलीलाई भेटेका मध्येकै नेताहरु बिहीबार बेलुका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

जनार्दन शर्मा, हरिबोल गजुरेल, देबेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणी खनाल, मणि थापा, लगायतका नेता खुमलटार पुगेका हुन्।

‘म एकताको पक्षमा छु, अनावश्यक आशंका गर्नुपर्ने छैन, स्थायी कमिटीको बैठकमा पनि म समालिएको हुँ,’ प्रचण्डको भनाई उद्धृत गर्दै नेता मणि थापाले भने, ‘म भड्केको भए स्थिति बिग्रन्थ्यो।’ ती नेताहरुले प्रचण्डलाई एकताका लागि अझ गम्भीररुपमा लाग्न सुझाएका थिए।

सम्बन्धित समाचार