नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।
पछिल्लो समय नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएको छ । संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ। साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका संक्रमितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनस् लकडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।
मन्त्रालयले लक्षणसहितका संक्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले विहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ।
मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीका अनुसार मन्त्रालयले गत साउन ११ गते नै पत्र पठाएर पुनस् जोरबिजोर प्रणालीमा यातायातका साधन चलाउन आग्रह गरेको बताएका छन्। ‘हामीले नाकामा कडाइ गर्न र पुन जोर बिजोर गर्न ११ गते नै पत्र पठाइ सकेका छौँ’, उनले भने। हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन: कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा कोरोना संक्रमण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो।