सुँघेर कोरोना संक्रमण पत्ता लगाउन कुकुरलाई प्रशिक्षण

कुकुरमा सँघेर केही कुरा पत्ता लगाउने विशेष शक्ति हुन्छ । उनीहरुको सुँघ्ने शक्ति विचित्रको हुन्छ । पुलिसहरुले अपराधी पत्ता लगाउन कुकुरलाई प्रयोग गरेको त हामी सबैलाई थाहा छ । यही सुँघने शक्तिको प्रयोग गरेर दक्षिण अमेरिकी देश चिलेका प्रहरीहरुले ‘स्निफर’ कुकुरलाई मानिसको पसिना सुँघेर कोरोना भाइरसको संक्रमण पत्ता लगाउने सम्बन्धी तालिम दिइरहेका छन् ।

यसअघि बेलायतमा गरिएको सोही प्रकारको परीक्षणमा सकारात्मक नतिजा आएको थियो । संक्रमणको सुरुवाति चरणमै मानिसको पसिना सुँघेर कुकुरले संक्रमण पत्ता लगाउन सक्ने सम्भावना देखिएकाले चिलेको प्रहरीले तालिम थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।



चिलेको प्रहरीले प्रारम्भिक प्रशिक्षणका लागि लाब्राडोस् र गोल्डेन रिट्रिभर्स प्रजातिका चार कुकुरलाई प्रशिक्षण दिइरहेको हो । विशेष प्रकारको हरियो रंगको बायोडिटेक्टर ज्याकेटको प्रयोग गरी प्रशिक्षण भइरहेको हो ।

स्निफर डग्जलाई लागुऔषध, बिस्फोटक पदार्थ, संदिग्थ व्यक्तिको पहिचानका लागि प्रशिक्षण दिइन्छ । पछिल्ला वर्षहरुमा सुँघेर मलेरिया, क्यान्सर तथा पार्किनसन्स जस्ता रोग पत्ता लगाउनका लागि पनि यसको प्रयोग गर्ने गरिएको छ ।

सम्बन्धित समाचार