नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ । लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो । सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बिबिसीले उल्लेख गरेको छ।
झण्डै १० दिनसम्म सेनिटाइजर खाएपछि उनीहरुको मृत्यु भएको प्रहरी अधिकारी कौशलले बताए । सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्दो क्रममा रहे पनि केन्द्र सरकारले लकडाउन खुलाएको छ । तर केही स्थानीय तहले लकडाउन कायम राखेका छन् ।