पार्टी फुटाउन खोज्ने प्रवृत्तिलाई परास्त गरिनेछ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको छ । जन चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्छ ।’

तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीमा बहस र विवाद हुनु सामान्य भएको बताए । विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र र त्यसलाई प्रतिक्रियावादीले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन उनले आग्रह गरे । अध्यक्ष दाहालले भने, ‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।’



उनले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वभाविक बताए । राजनीतिक अस्थिरता र एकताका निम्ति आफूले पद त्याग गर्दै आएको समेत स्मरण गर्दै उनले भने, ‘मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेको छु ।’

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गर्ने दाबी गर्दै उनले पार्टीभित्रको बहसलाई छोपछाप गर्न नहुनेमा जोड दिए । अध्यक्ष प्रचण्ड भने, ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्ति परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लोस्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’

सम्बन्धित समाचार