नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
चार दिनको संवादहिनतापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार कुराकानी भएको छ ।
प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड आइतबार बिहान बरिष्ठ नेता झलनाथ खनालसँगै बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।
‘अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ स्रोतले भन्यो । ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो । उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए ।
प्रधानमन्त्री ओलीले ‘म आउन्न तर तपाईंहरू बस्ने भए बस्नुस् तर यसलाई स्थायी कमिटी बैठक नभन्नुस्’ भन्ने जवाफ फर्काएका थिए । प्रधानमन्त्री ओलीको उक्त जवाफपछि बालुवाटारमा भेला भएका प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बैठक बसेको थियो । उक्त बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको निर्णय गरेको थियो ।
उक्त बैठकले आगामी स्थायी कमिटी बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो । बैठकले प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन । यो बीचमा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेलले एक पटक प्रचण्डसँग भेट गरेका थिए भने अर्को पटक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पौडेल खुमलटार पुगेका थिए ।
नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उनको राजीनामा मागेको छ । जारी स्थायी कमिटी बैठक पनि उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ ।
यसअघि शनिबार नेकपा अध्यक्ष प्रचण्डले अहिलेको विवाद पदका लागि नभई पद्दतिका लागि भएको बताएका थिए ।