नवकान्तिपुर संवाददाता
विराटनगर, १८ साउन ।

‘भ्रष्टाचार विरोधी अभियन्ता’ श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उप–सचिव प्रेम सञ्जेल प्रायःजसो शनिबार पनि कार्यालयमा गई काम गर्छन् । कार्यालयकै कार्यरत दुईजना महिला कर्मचारीले सञ्जेलमाथि हातपात गरे । कार्यकक्षमा रहेका सञ्जेललाई महिला कर्मचारीद्वय नेत्रकुमारी भट्टराई र मेनुका कोइरालाले ढोकाको चुकुल लगाएर कुटपिट गरेका हुन् ।
उनीहरुले प्रहरीमा दिएको बयानमा सञ्जेलको हेपाइको सीमा नाघेको आरोप लगाएका छन् । कुटपिटबाट सञ्जेलको अनुहारमा घाउ छ । हात र ओठमा समेत चोट देखिन्छ । कुटपिट गर्ने दुबै महिला करारका कर्मचारी हुन् ।
उनीहरु कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । खनालले भनिन्,’सहन नसक्ने गरी अपशब्द बोलेर दुव्र्यवहार गर्ने अनि अनावश्यक रुपमा काममा पेलाउने गरेका थिए । हाम्रो जिम्मामा नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएर दुःख दिएपछि सहनै सकेनौं ।’
महिला संगठनसमेतलाई समेत खबर गर्ने र चिया खाने होटलमा बसेर कुटपिट गर्ने योजना बनाएको खुल्न आएको सञ्जेलले दाबी गरे । सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेट, नेम प्लेट र पञ्चिङ मेसिनलगायत वस्तुबाट प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । खनालले भनिन्,’हामी काम गर्नुभन्दा अगाडि एक जान दिदी पनि हुनुहुँदो रहेछ यस्तै बोलिवचन र व्यवहारले काम छाडेर जानु भएछ ।’
घटना विवरणअनुसार केहीअघि कार्यालयको पानी तान्ने बिजुलीको पम्प चोरी भएको थियो । त्यसपछि सञ्जेल आक्रोशित थिए । उनले कर्मचारीलाई त्यसबारे स्पष्टीकरण पनि सोधेका थिए ।

