विराटनगरका नापी कार्यालयका दुईजना कर्मचारीसहित मोरङमा थप १३ जनामा कोरोना पुष्टि

कोरोना भाइरसकाे संक्रमण चौतर्फी फैलिएको छ । ट्राफिक प्रहरी बग्गी खानामा दुई जनामा भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालय सिल गरिएको छ भने त्यस्तै प्रहरी प्रधान कार्यालयमा पनि प्रहरीहरुमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

यस्तै नापी कार्यालय विराटनगरका दुई जना कर्मचारीसहित मोरङमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा विराटनगर वडा नम्बर ७ स्थित नापी कार्यालयका दुईजना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको हो । नापी कार्यलयका अनुसार ३६ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। कार्यालयका कार्यवहाक प्रमुख गणपति साहका अनुसार शुक्रबार कार्यालयमा ७ जनाको स्वाब संकलन गरिएको थियो । सो क्रममा उनले २ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।



त्यसैगरि विराटनगर कारागारका ३० र ३२ वर्षीय पुरुषमा पनि संक्रमण भएको बताइएको छ। यद्यपि कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले दुई जनाको रिपोर्ट पोजेटिभ आएको कुरा सुनेको भएपनि ती व्यक्ति कारागारको नभएको बताए । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले पीसीआर रिपोर्टमा २ जना पुरुषको ठेगाना कारागार रहेको जनाएपनि सो नामका ब्यक्ति थुनुवादेखि सुरक्षाकर्मी कोही नभएको पोखरेलले जानकारी दिए। हाल कारागारमा करिब ९ जना कैदीबन्दी रहेको उनले बताए।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले भने संक्रमित दुई जना सुरक्षाकर्मी भएको जानकारी दिएको छ। पीसीआर स्वाब संकलनका क्रममा संक्रमित दुवैजनाले ठेगाना गलत टिपाउँदा समस्या भएको महानगरको भनाइ छ । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की अनुसार महानगरका विभिन्न वडामा गरी ३ महिला नर्सिङ स्टाफ र २ पुरुषमा संक्रमण पुष्टि भएको छ। बाँकी ३ जनाको ठेगाना भने विराटनगर मोरङ मात्र रहेको छ ।

यसक्रममा ग्रामथान गाँउपालिकाका एक पुरुषको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको छ। संक्रमित देखिएको महानगरका सबैको व्यवस्थापनतर्फ लागेको कार्कीले जानकारी दिए।

यससंगै महानगरमा हालसम्म १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार