यी हुन् प्रचण्डसँग ओली लचिलो भएको ३ विषय, आज सहमति गर्ने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक गतिरोध चिर्न प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी राखेर २ अध्यक्षबीचको छलफलमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली निकै लचिलो रूपमा प्रस्तुत भएका थिए । पछि खुमलटारमा अर्को छलफल सुरू भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले वार्ताको सुरूवातमै वार्ताको लागि मात्र वार्ता नभई ठोस निष्कर्षमा पुग्नेगरी वार्तामा बस्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाललाई पनि सँगै लिएर बालुवाटार पुगेका थिए । प्रचण्डले नै ओलीलाई वार्तामा महासचिव विष्णु पौडेल र सुवाष नेम्वाङलाई पनि बोलाउन आग्रह गरेका थिए ।

वार्ताको क्रममा प्रधानमन्त्री ओलीले सचिवालयमार्फत् विवाद समाधानको लागि आग्रह गरेका थिए । तर प्रचण्डले स्थायी कमिटी बैठक जारी रहेको बेलामा सचिवालयमा फर्किन नमिल्ने भन्दै विकल्प सोच्च आग्रह गरेका थिए । यसअघि केन्द्रीय कमिटी बैठक बोलाउन तयार नभएका ओली आजको वार्तामा केन्द्रीय कमिटी बैठक बोलाउने सहमत भएका छन् । प्रचण्डले राखेका ३ विषयमा ओली लचिलो भएपछि सम्भवत आज नै ओली र प्रचण्डबीच ठोस सहमति हुनसक्ने स्रोतको दाबी छ ।



यी हुन् ओली लचिलो भएका ३ विषय
१, चैतमा महाधिवेशन गर्ने र नेतृत्व हस्तान्तरण गर्ने
केपी ओली आइतबारको वार्तामा मंसिरमा महाधिवेशन गर्न सकिने अवस्था नआएमा चैतमा कुनै पनि हालतमा महाधिवेशन गर्न सहमत भएका छन् । त्यतिमात्र होइन ओली चैतमा हुने महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण गर्न पनि तयार भएका छन् । प्रचण्डसँग ओलीले महाधिवेशनमा अध्यक्षमा नउठ्ने गरी लिखित सहमति गर्न तयार रहेको बताएका थिए ।

२, प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउने
वार्तामा ओली महाधिवशनमा प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउन तयार भएका छन् । खनाल, पौडेल र नेम्वाङलाई साक्षी राख्दै ओलीले आफ्नो समूहको तर्फबाट महाधिवेशनमा अध्यक्षको उम्मेद्वार नै नउठाउँने लिखित सहमति गर्न तयार भएका हुन् ।

३ केन्द्रीय कमिटी बैठक आव्हान गर्ने
ओलीले आइतबारको वार्तामा राजीनामा नमाग्ने सर्तमा केन्द्रीय कमिटी बैठकमा जारी विवाद र आगामी कार्यदिशाका बारेमा छलफल गर्न तयार भएका छन् । केन्द्रीय कमिटी बैठकबाटै ओलीले महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी छ । ओलीले आगामी निर्वाचनसम्म नै सरकार चलाउने र महाधिवेशनपछि पार्टीमा सम्मानजनक स्थान दिनुपर्ने सर्तमा यी ३ विषयमा लचिलो भएको स्रोतको दाबी छ ।

सर्वोच्च नेताबारे विवाद कायमै
त्यसो त आजको वार्तमा ओलीले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी नदिएपछि आफूलाई सेरेमोनियल रूपमा सर्वोच्च नेताको रूपमा पार्टीमा स्थान दिनुपर्ने बताएका छन् । तर प्रचण्डले भने प्रधानमन्त्री पदमा रहँदासम्म सर्वोच्च नेता मान्न नसकिने बताएका छन् । प्रचण्डले ओलीलाई निर्वाचनपछि सर्वोच्च नेता पद कायम गर्न सकिने बताएका छन् । यसबारे आजको वार्तामा विस्तृतमा छलफल गरेर सहमति गर्नेमा ओली–प्रचण्ड सहमत भएका छन् ।

खुमलटारमा ब्रिफिङ
ओलीसँग छलफल गरेर फर्किएपछि प्रचण्ड खुमलटारमा वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू छलफलमा जुटेका छन् । खनाल, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मिलित छलफलमा प्रचण्डले ओलीसँगको छलफलबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जानकारी दियो ।

ओलीले अर्ली महाधिवेशन सम्भव नभए केन्द्रीय कमिटीले तय गरेकै मितिमा महाधिवेशन गर्न तयार रहेको बताएका थिए तथा केन्द्रीय कमिटी डाक्न पनि ओली सहमत भएको कुरा बताएका थिए । खुमलटारमा भएको छलफलमा महाधिवेशन र आगामी निर्वाचनमा नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिका क्लियर गरेर ओलीसँग सहमति गर्न सकिने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ ।

सम्बन्धित समाचार