ओलीलाई गोकुल बाँस्कोटाको सुझाव : प्रचण्डलाई जेरी होइन तिते करेली खुवाउनुस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजको वार्तामा पनि सचिवालय कि स्थायी कमिटी बैठक भन्नेमै हलो अड्किएको छ । त्यसो त हिजो पनि ओली र प्रचण्डबीच विवाद समाधान पार्टीको कुन कमिटीमार्फत् गर्ने भन्नेमा विवाद कायमै रहेको थियो । आजको वार्तामा पनि सोही विषयमा छलफल केन्द्रित भएको थियो ।

ओली सचिवालयमार्फत् विवाद समाधान गर्न चाहन्छन् । यसमा ओलीको एउटा स्वार्थ लुकेको छ । त्यो हो ओली सचिवालयमा बहुमतमा रहनु । सचिवालयबाहेक अन्य पार्टी कमिटीमा ओली अल्पमतमा छन् । त्यसैले ओली जारी स्थायी कमिटी बैठक नै स्थगित गरेर सचिवालयमार्फ विवाद समाधान होस् भन्ने चाहन्छन् । तर प्रचण्ड भने जारी स्थायी कमिटीमार्फत नै विवाद समाधान गर्नुपर्ने पक्षमा छन् । दुबै नेता आ–आफ्नो अडानबाट टसमस नहुँदा आजको वार्ता उपलब्धिमूलक हुन सकेन ।



हिजोको वार्तामा चैतमा महाधिवेशन गर्ने र महाधिवेशनमार्फत ओलीले प्रचण्डलाई पार्टीको नेतृत्व हास्तान्तरण गर्ने विषयमा अध्यक्षद्वय सहमत भएका थिए । आजको वार्तामा सो विषयले मूर्त रूप लिने अपेक्षा गरिए पनि सचिवालय कि स्थायी कमिटी बैठक भन्ने विषयमा अध्यक्षद्वयबीच जुँगाको लडाइँ भएपछि हिजो भएका समझदारी पनि अलपत्र पर्ने देखिएको छ ।

वार्तापछि बालकोटमा ओली

प्रचण्डसँगको वार्ता सकारात्मक नभएपछि लगत्तै ओली आफ्नो निजी निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीले आफ्ना नजिकका नेता तथा शुभेच्छुकमाझ एक घण्टा बिताएका थिए । बालकोटको ओलीको घरमा रहँदै आएका नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटासँग पनि ओलीले वार्ता सकारात्मक नभएको बताएको स्रोतको भनाइ छ । ओलीले प्रचण्डसँग बसेर खाएको जेरी गुलियो भएको तर गफ तितो भएको प्रतिक्रिया दिएका थिए ।

बाँस्कोटाले भने ओलीसँगको गफमा ‘प्रचण्डलाई जेरी होइन तिते करेली खुवाइदिनुहोस्’ भन्ने सुझाव दिएका थिए । जेरी खुवाउँदा वार्ता बिग्रिए तिते करेली खुवाएर हेर्नुहोस् न्, तै निकास निस्कन्छ कि !, बाँस्कोटाले ओलीलाई ठट्याउली पाराले भनेको स्रोतले बतायो ।

ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि सोमबार पहिलो पटक बालकोट पुगेका हुन् । उनको साथमा पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश शाक्य पनि निवास पुगेका थिए । बालकोटमा ओलीले कार्यकर्ता तथा छिमेकीहरूसँग पनि केही समय कुराकानी गरेका थिए ।

सम्बन्धित समाचार