नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

बाढी, पहिरो र कोरोना भाइरसको प्रभावले गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि भएको छ । बजारमा उपभोग्य वस्तुको मुल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष मारमा सर्वसाधारणहरू परेका छन् । दैनिक उपभोग्य वस्तुहरुमा अहिले तरकारी पनि एक हो । तर तरकारीको मूल्य पनि यति बेला निक्कै बढेको छ ।
कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको करिव ७० प्रतिशत तरकारीको माग धान्ने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य अवस्थामा दैनिक झण्डै सात सयदेखि साढे सात सय टनसम्म भित्रिने तरकारी अहिले दैनिक करिव ५ देखि ६ सय टन भित्रिने गरेको वरिष्ठ बजार सञ्चालक अधिकृत मनोज धितालले जानकारी दिए । बुधवार दिउँसो तीन बजेसम्म ३ सय १५ टन तरकारी कालीमाटी बजारमा आइपुगेको समितिले जनाएको छ । अहिले तरकारी आयातमा कमी भएकोले पनि तरकारीको बजारमूल्यमा फरक पर्न गएको धितालको भनाई छ । ‘यो समय भनेको महङ्गो हुने नै समय हो तर यसमा पनि अहिले बाढी, पहिरो र कोभिडको पनि केही प्रभाव पारेको छ’ उनले भने ‘जसले गर्दा तरकारीको मूल्यमा केही फरक पर्न गएको हो ।’
तरकारीको दैनिक बजार मूल्यसूचीमा असार र साउनको तुलना गर्दा पनि धेरै नै फरक देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाअघि प्रतिकेजी १२ रूपैया पाइने गोलभेंडाको मूल्य अहिले ४२ रूपैया छ भने प्रतिकेजी ५२ रूपैयाबाट बढेर आलुको मुल्य ६७ पुगेको छ । त्यसैगरी प्रतिकेजी ३७ रूपैयाको काउली ११५ मा पुगेको छ, मुला १२ रूपैयाबाट ६५, बोडी ४७ रूपैयाबाट ९५ र हरियो प्याजको मुल्य ४७ रूपैयाबाट १९५ पुगेको छ ।
किन बढ्यो तरकारीको भाउ ?
बाढी र पहिरोले उपत्यका भित्रने मुख्य सडकहरू अवरूद्ध हुँदा कालीमाटी बजारमा पहिलेझैं तरकारी भित्रिन नसकेकोले बजारमा तरकारीको मूल्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य बेलामा भन्दा अहिले कम तरकारी आएको वरिष्ठ बजार सञ्चालक अधिकृत मनोज धितालले जानकारी दिए । कोरोना भाइरसका कारण अहिले भारतबाट आउने तरकारीमध्ये एक चौथाई तरकारी मात्र नेपाल भित्रने गरेको छ ।
केही महिना अघि कोरोना भाइरसका काठमाडौं उपत्यकाबाट बाहिरिनेहरू पछिल्लो समय उपत्यका भित्रिने क्रम बढेको छ । सरकारले चार महिनासम्म जारी गरेको लकडाउन गत साउन ७ गतेबाट खुला गरेसँगै उपत्यका भित्रिने मानिसहरूको संख्यामा वृद्धि भएको छ, जसले गर्दा पछिल्लो समय बजारमा तरकारीको माग बढेको देखिन्छ । त्यसैगरी सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरू खोल्ने अनुमति दिएसँगै बजारमा तरकारीको माग बढ्दो छ । बजारमा तरकारीको माग बढेकोले अहिले तरकारी भाउ वृद्धि हुन थालेको हो ।

छैन अनुगमन !
विभिन्न कारणहरू देखाएर लकडाउनकै समयदेखि बजारमा दिनप्रतिदिन तरकारीको भाउ बढेको देखिन्छ । व्यापारीहरूले मनलाग्दी तरकारीको मुल्यवृद्धि गर्दा त्यसको मारमा सर्वसाधारणहरू परेका छन्, तर यसमा अनुगन गर्ने निकायले ध्यान पुर्याएको देखिँदैन । कालीमाटी तरकारी बजारले सार्वजनिक गर्ने मूल्यसूचीभन्दा बढी मूल्यमा तरकारी किन्नुपर्दा उपभोक्ता ठगिएका छन् । संकटको घडीमा गरिएको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै ध्यान दिएकोे देखिँदैन ।
