ऐतिहासिक धरहरा पुनर्निर्माणको कामले गति लिदै (फोटो फिचर)

भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम यतिबेला धमाधम भइरहेको छ । कोरोना भाइरसका कारण जारी लकडाउन गत साउन ७ गतेबाट खुला भएसँगै अहिले धरहरा पुनर्निर्माणको कामले तीव्रता पाएको हो । यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको समयमा करिव एक महिना जति रोकिएको धरहरा पुनर्निर्माणको काम त्यसपछिका दिनहरूमा भने सीमित कामदारहरू खटाएर निरन्तर हुँदै आएको थियो ।

कोरोना भाइरसको महामारी अहिले पनि कायमै रहेको बेला सुरक्षा सावधानीहरू अपनाएर काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । कामको अवस्था हेरेर दैनिक डेढ सयदेखि दुई सयसम्म कामदारहरूले काम गरिरहेका छन् । धरहरा पुनर्निर्माणको काम हेर्दै आएका सम्पदा विज्ञ राजुमान मानन्धरकाअनुसार धरहरा पुनर्निर्माणको झण्डै चालीस प्रतिशत काम सम्पन्न भइसकेको छ । २२ तलाको धरहराको अहिले ११औं तलाको काम सकिएर १२औं तलाको काम चलिरहेको छ ।



कस्तो बन्दैछ धरहरा ?

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा २२ तलाको भए पनि धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिनेछ । पहिलेको धरहराभन्दा अहिलेको नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ, जसमा दुईवटा लिफ्ट र एउटा परम्परागत भर्याङ पनि हुनेछ । पुरातात्विक महत्व बोकेको ऐतिहासिक धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । नयाँ बनिरहेको धरहराको परिसरमा रङ्गिन जलफोहरा, रेष्टुराँ, बगैँचा, संग्रहालय, पुस्तकालयलगायतको सुविधा हुनेछन् । ३ सय ५० गाडी र झण्डै ७ हजार मोटरसाइकलको लागि अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । भूकम्पबाट बचेका धरहराको ठुटोलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेमले छोपेर राखिने छ ।

पुनर्निर्माणको विगत

०७२ सालको भूकम्पले क्षति पुर्याएको धरहरा पुनर्निर्माणको काम भूकम्प गएको तीन वर्षपछि सुरू भएको थियो । धरहरा पुनर्निर्माणको लागि जम्मा तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ । २०१८ सेप्टेम्बर ३० मा सम्झौता भएर दुई वर्षमा काम सम्पन्न गर्नेगरी धरहरा पुनर्निर्माणको जिम्मा रमन कन्सट्रक्शनले पाएको थियो । तर अहिले लकडाउन र अन्य कारणले गर्दा तोकिएकै समयमा काम सम्पन्न गर्न सकिने अवस्था नभएकाले त्यसका लागि समय थप गर्ने विषयमा छलफल भइरहेको प्राधिकरणले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गतवर्ष १२ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसअघि २०७२ सालमा नै धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरू गरेका थिए । उक्त अभियान सफल नभएपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो । तर टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गरेको थियो । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो । त्यसपछि प्राधिकरणले धरहरा निर्माणको जिम्मा जीआईईटीसी (रमनजेभी) लाई दिएको हो ।

विसं १९९० को भूकम्पका कारण ११ तले धरहरा क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । उक्त ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए ।

सम्बन्धित समाचार