नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
कोरोना महामारीकैबीच सरकारले शैक्षिक सत्र ०७७-०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ। सरकारले भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले विहीबार ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खोल्न भनेको हो ।
मन्त्रालयले ०७६ को प्रकाशन गर्न बाँकी रहेको नतिजा पनि प्रकाशन गर्न भनेको छ । त्यसैगरी विद्यालयमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउन, पाठ्यपुस्तक उपलब्ध गराउन भनेको छ।
कोरोना भाइरस आक्रमक भएको भन्दै लकडाउनको माग भैरहेको अवस्थामा स्थानीय तहलाई परिपत्र गर्दै भर्ना लिन निदेशन दिएसँगै शिक्षा मन्त्रालयको आलोचना भैरहेको छ ।