ओलीले पार्टी फुटाउन लागेमा साधारण सदस्यबाटै निष्काशन गर्ने प्रचण्ड-नेपाल समूहको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानमा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदासिन देखिएका छन् । बुधबार प्रचण्ड–नेपाल समूहले आफूनिकट पत्रकारहरूमाझ ओलीको विरोध गर्दै बहुमतबाट ओलीलाई सरकारबाट फिर्ता बोलाउनुको विकल्प नभएको बताएपछि प्रचण्डसँग ओली रिसाएका छन् । यता प्रचण्ड–नेपाल समूह पनि ओली विवाद समाधानमा भन्दा पनि झन् विवाद उल्झाउने गरी गतिविधि गरिरहेको भन्दै निर्मम ढंगले उनीविरूद्ध लाग्नुपर्ने निष्कर्षमा पुगेको छ ।

स्रोतका अनुसार प्रचण्ड–नेपाल समूह ओलीविरूद्ध वार कि पारको लडाइँको लागि तयार भएको छ । पार्टी फुटाउने या सोको तयारी गर्ने गतिविधि ओलीबाट भएमा पार्टीको केन्द्रीय कमिटीबाट उनलाई नेकपाको साधारण सदस्य नै नरहने गरी कारवाही गर्ने सो समूहको तयारी छ । ओलीले गरेका एकलौटी कामहरूको लिष्ट बनाउने र सो कामबाट पार्टीलाई गम्भीर असर गरेको भन्दै उनलाई कारवाही गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ । साधारण सदस्यबाटै निष्काशन गरेपछि सरकारबाट पनि स्वतः फिर्ता हुने भएकोले ओलीविरूद्ध निर्मम भएर लाग्ने प्रचण्ड– नेपाल समूहको तयारी छ ।



बुधबार प्रचण्डले आफूनिकट पत्रकारहरूसँग पार्टी एकता जोगाउन ओलीसँग हदैसम्मको लचकता अपनाइएको तर उक्त लचकतालाई ओलीले आफूहरूको कमजोरीको रूपमा उपयोग गरेको बताएका थिए । अझै पनि पार्टी एकता जोगाउन लचकताको साथ प्रस्तुत हुने तर यति गर्दा पनि ओली सहमतिमा नआएमा र पार्टी फुटाउने दिशामै अग्रसर रहेका उनलाई केन्द्रीय कमिटीबाट साधारण सदस्य नै नरहने गरी कारवाही गर्नुको विकल्प रहँदैन, प्रचण्डको भनाइ थियो ।

प्रचण्ड–नेपाल समूह स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म बहुमतमा छ । तर स्थायी कमिटीमा भने बहुमत जुटाउन रामबहादुर थापा बादलको साथ चाहिने भएको छ । उपाध्यक्ष वामदेव गौतम ओली खेमामा पुगेपछि सचिवालयको समीकरण बदलिएको छ । हालको अवस्थामा थापाले जुन समूहलाई समर्थन गर्छन् सोही समूह सचिवालयमा बलियो हुनेछ । त्यसैले पनि थापा पछिल्लो समय दुबै समूहको तानातानमा परेका छन् । थापाले पार्टी एकता कायम रहँदासम्म ओलीको र पार्टी फुट्ने अवस्थामा प्रचण्डलाई साथ दिने बताउँदै आएका छन् ।

सचिवालय बाधक
प्रचण्ड नेपाल समूहले निर्ममतापूर्वक ओलीलाई कारवाही गर्ने बताउँदै गर्दा उनीहरूको सो कदमप्रति सचिवालय बाधक बन्ने देखिएको छ । केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय सचिवालयबाट पारित हुनुपर्ने हुन्छ । ओली आफू अनुकुल वातावरण नबन्दासम्म केन्द्रीय कमिटी बैठक बोलाउन तयार हुने छैनन् । पछिल्लो समय सचिवालयमा बहुमतमा रहेका ओलीले आफ्नोविरूद्ध षयन्त्र भएको बुझेपछि केन्द्रीय कमिटी मात्र नभएर स्थायी कमिटी बैठक पनि टार्दै आएका छन् । त्यसैले तत्कालको राजनीतिक शक्ति सन्तुलनलाई हेर्दा प्रचण्ड–नेपाल समूह निर्मम बन्दा पनि ओलीलाई सरकारबाट फिर्ता बोलाउन नसक्ने अवस्थामा देखिन्छ ।

यो कुरा बुझेका प्रचण्डले गौतमलाई फकाउने असफल प्रयास गरेका थिए । तर गौतमले आफू कुनै गुटमा नरहेको भन्दै ओलीविरूद्ध निर्मम भएर लाग्न नसक्ने बताएका थिए । थापालाई पनि प्रचण्डले दोस्रो तहका नेताबाट फकाइरहेका छन् । यदि थापाले प्रचण्ड नेपाल समूहलाई साथ दिने हो भने ओलीले पार्टी फुटाउन अगाडि नै उनलाई पार्टीबाट साधारण सदस्य पनि नरहने गरी कारवाही गरेर सरप्राइज एट्याक गर्ने तयारीमा प्रचण्ड नेपाल समूह रहेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार