
डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको हो ।
बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा–छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएको स्थानीय महेश पन्तले बताए ।
मृतक आमा–छोराको शव पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका छन् ।
