नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।

कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौं उपत्यका दुई साताका लागि सटडाउन गरिने भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक कुनै पनि सेवा दिइने छैन ।
काठमाडौँ उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने गरिने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आगामी आइतबारदेखि लागू हुनेगरी सटडाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति भएको छ ।
काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।
