नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
नेपालमा आज (शुक्रवार) थप ४६४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।