
गुलाबी रंङको सर्ट, कालो पाइन्ट र एक हातमा सियो अर्को हातमा जुत्ता । सधै व्यस्त हुने काठमाडौं शहरमा कोरोनाले गर्दा आजभोलि चहलपहल खासै पहिलेको जस्तो देखिँदैन । तर त्रासका बाबजुत पनि काठमाडौं शहरको एक सडक छेउमा मध्यान्हको चर्को घाममा बसिरहेका छन् उनी अर्थात् दशरथराम महरा । सर्लाही स्थायी घर भएका दशरथराम महरा काठमाडौंमा जुत्ता चप्पल सिलाउने काम गर्न लागेको दुई वर्ष जति भएको छ ।

चारवटा छोराछोरीसहित उनको छ जनाको परिवार काठमाडौंमा कोठाभाडामा लिएर बसिरहेका छन् । कोरोना भाइरसका कारण सरकारले लकडाउन गर्नुभन्दा अघि जसोतसो चलिरहेको उनको परिवारमा लकडाउनले गर्दा अप्ठ्यारो आइलाग्यो । चार महिनासम्मको कोठाभाडा तिर्न बाँकी रहेको सुनाउँदै उनी भन्छन् ‘घरबेटीले कोठाभाडा मागिरहेछ, तर के गर्नु ? कामधाम केही छैन अहिले । काम भएपछि विस्तार तिर्छु भनेको छु ।’ केहीदिन अघि सरकारले लकडाउन खुला गर्दा दशरथराम महरालाई केही आशा पलायो । उनी आफ्नो कामलाई निरन्तरता दिन त्यही पहिलेकै सकड छेउमा आइपुगे तर आफू आएर मात्रै के नै हुन्थ्यो र, आउनुपर्ने मान्छेहरू पनि त आउनु पर्यो नि !यता पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढिरहेकोले आम नागरिकहरूलाई सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्तालेदिनहुँ भनिरहेका हुन्छन् ।
‘यस्तो बेला कोरोनको डर…?’ प्रश्न नटुङ्गिदै ‘डर कसलाई लाग्दैन ?’ दशरथराम महरा प्रतिप्रश्न गर्छन् । ‘सबैतिर यस्तै डर त छ नि ! अब के गर्नु ?’ उनी भन्छन् ‘जसरी पनि खानु परिहाल्छ, डर लागेर के गर्नु ?’ छेवैमा राखेको सेनिटाइजरको सानो प्याकेट देखाउँदै उनी भन्छन् ‘यही सेनिटाइजर लगाउने हो र मास्क लगाउने हो,यति त गर्ने पर्यो नि ।’जुत्ता चप्पल सिलाउने काममा लाग्नुभन्दा अगाडि दशरथराम महरा दश वर्ष विदेश (मलेसिया) पनि बसेका रहेछन् । त्यो बेलाको विगतलाई सम्झिदै उनी भन्छन् ‘दश वर्ष मलेसियामा काम गरेर फर्केपछि पनि उतै जान मन थियो तर घर परिवारमा केही समस्या भएकोले गर्दा घरको मान्छेले नजानु भन्न थाले । अनि मलाई पनि ठीकै छ भन्ने भयो र यतै बसियो ।’ उनी अगाडि थप्छन् ‘अब यतै नेपालमै बसेपछि केही त गर्नु पर्यो, अनि जानेको सिप यही (जुत्ता चप्पल सिलाउन) थियो यसैमा लागियो ।’
कोरोनाको जोखिम कायमै रहेको भन्दै सरकारले अहिले पनि स्कुल, कलेज, सिनेमा हल, पार्कलगायतका केही क्षेत्रहरूमा प्रतिबन्ध लगाएको छ । योसँगै धेरै मानिसहरू उपत्यका बाहिर गएका छन्, जसकारण बजारमा आवतजावत गर्नेहरूको संख्या कमी आएको देखिन्छ ।
दुई दशकभन्दा लामो समयदेखि काठमाडौंमा जुत्ता चप्पल सिलाउने काम गर्दै आइरहेका महोत्तरीका सन्दिप रामलाई पनि यति कोरोनाको डर भन्दा मान्छेहरु नआइदिएकोमा बढी चिन्ता छ । उनी पनि लकडाउन खुलेपछि केही दिन अगाडि मात्रै काममा फर्किएका थिए । कोरोनाबाट बच्न उनले पनि मास्क लगाएका छन् भने साथमा सेनिटाइजर पनि राखेका छन् । मानिसहरूको चहलपहल नै नभएपछि आजभोलिउनको दैनिक कमाई एक दुई सयमा सीमित छ । उनी भन्छन्– ‘पहिले सामान्य अवस्थामा सात आठ सय नै कमाइ हुन्थ्यो, अहिले त एक दुई सय मात्रै हो ।’कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेबाट जारी गरेको लकडाउन साउन ७ गतेबाट हटिसकेको भएपनि अझै कतिपय मानिसहरू आफ्नो पेशा व्यवसायमा फर्किसकेका छैनन् । फर्किन थालेकाहरूले पनि यस्तो अवस्थामा आफूलाई सुरक्षित महशुस गरिरहेका छैनन्, जसको लागि दशरथराम र सन्दिप राम केही प्रतिनिधि पात्रहरू मात्रै हुन् ।

