नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादबारे दोस्रो तहका नेताहरु बिस्तारै खुल्न थालेका छन् । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वारपारको लडाइमा रहेकै बेलामा दोस्रो तहका नेता को कता भन्ने विषयले धेरैको ध्यान खिचेको छ । पार्टीका सचिवालयबाहेका सबै कमिटीमा अल्पमतमा रहेका ओलीले प्रचण्डपक्षका नेताहरुलाई प्रभावमा पार्न थालेको स्रोतको दाबी छ ।
स्रोतको दाबीलाई बल पुग्नेगरी नेता टोपबहादुर रायमाझीले आज एक कार्यक्रममा प्रधानमन्त्रीलाई समर्थन गर्दै सहमतिविना प्रधानमन्त्रीले राजीनामा दिन नहुने बताए । पूर्व माओवादी खेमाका रायमाझीको अभिव्यक्तिले प्रचण्ड समूहलाई तनाव थपेको छ । यसअघि प्रचण्ड समूहमा रहेका स्थायी कमिटी सदस्य लेखराज भट्ट पनि पछिल्लो समय ओलीनिकट मानिन्छन् । रायमाझीले पनि ओलीको पक्षमा अभिव्यक्ति दिन थालेपछि प्रचण्ड र माधव नेपाल समूह थप परामर्शमा जुटेका छन् ।
त्यसो त प्रचण्ड समूहलाई साथ दिंदै आएका नेकपा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा पनि पछिल्लो समय ओलीको समर्थन गर्दै आएका छन् । यता ओलीले भने मन्त्रीपरिषद् पुनर्गठनमा स्थान दिने भन्दै प्रचण्डसमूहका नेतालाई प्रलोभनमा पार्ने गरेको स्रोतको दाबी छ ।
रायमाझीले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताएका थिए । रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको बताएका थिए ।
पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए।