नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपामा ३ गुट सक्रिय रहेको बताएका छन् । गौतमले आफू भने कुनैपनि गुटमा नरहेको दाबी गरे ।
गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको भनेर कपोलकल्पित र भ्रामक प्रचार गरिएको बताए। आफ्नो जोडबलमा भट्टको नियुक्त भएको भन्ने विषयमा गौतमले आफ्नो सचिवालयमार्फत खण्डन गरेका हुन्।
‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन,’ गौतमले भनेका छन, ‘यो मेरो सरोकारभन्दा बाहिरको विषय हो।’
यस्तो छ गौतमको खण्डन
१, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ। तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन। यो मेरो सरोकार भन्दा बाहिरको विषय हो।
२, अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हलहुन नसग्दा तीन वटा विचार समूह बनेका छन्। यी समूहसँग क। केपी ओली, क।पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क।माधवकुमार नेपाल जोडिनु भएको छ। म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर क ओली र क प्रचण्ड ले भेट्न बोलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु। पछिल्लो मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।
३, ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो। त्यसै कारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै उहाँहरुले बोलाउँदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको बेला क। ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। क । प्रचन्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु।