नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।

काभ्रेमा क्वारेन्टाइनमा रहेकी एक युवतीले आत्महत्या गरेकी छन् । शुक्रबार जिल्लाको बेथानचोक गाउँपालिका–४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा बसिरहेकी २१ वर्षकी युवतीले क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेकी हुन् ।
काभ्रेका एसपी रवीकुमार पौडेलका अनुसार उनी गत साउन १६ गते दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी थिइन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा उनी झुण्डिएको अवस्थामा फेला परेको हो । गाउँलेको आक्रमणमा प्रहरी र स्वास्थ्यकर्मी घाइते युवतीको मृत्यु भएसँगै क्वारेन्टाइन व्यवस्थापनको लापरबाहीले यस्तो घटना भएको बताउँदै उनका आफन्त तथा गाउँले प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्।
उनीहरुले क्वारेन्टाइन भवनसँगै त्यहाँ खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा गरेका हुन् । आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका हुन् । आफन्त तथा गाउँलेको आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो । अहिले प्रहरीले घटनास्थलको स्थिति नियन्त्रणमा लिने कोसिस गरिरहे पनि त्यहाँको अवस्था भने तनावपूर्ण रहेको छ।
