नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्न आग्रह गरेका छन् । शनिबार साझा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले भने, ‘म फेरि जोड दिएर भन्छु ,हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं। सबै बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं ।’
त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, ‘बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं।’
यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने श्रेष्ठले बताए । उनले अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्षमा पुग्नुपर्ने बताए । पार्टी भित्रको बहस र अन्तरसंघषलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको बिषय होइन । ‘पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं,’ श्रेष्ठले लेखेका छन् ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पार्टीभित्र उत्पन्न विवादले अनिश्चितकालका लागि स्थगित छ ।