अपाङ्ग बालबालिकाका लागि बन्दै गरेको थिएटरलाई आर्थिक अभाव, नाट्य समूहद्वारा सहयोगको अपिल

अपाङ्गता भएका बालबालिकाहरूका लागि बन्दै गरेको थिएटर (नाटक घर) का लागि आर्थिक अभाव भएकाले नेपाल सङ्गीत, नृत्य तथा नाट्य समूहले सहयोगको अपिल गरेको छ । अपाङ्गता भएका बालबालिकाप्रति समाजले हेर्ने दृष्टिकोण बदल्नका लागि नाट्यकर्मीहरूसँगै अपाङ्गता भएका बालबालिकाहरूलाई सहभागी गराइ नाटकमार्फत् उनीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले नाट्य समूहले काठमाडौको गंगोबुस्थित नेपाल मातृगृहमा थिएटर बनाउन लागिएको हो । सहयोगी दाताहरूको सहयोगद्वारा नै बन्ने लागेको उक्त थिएटर बनाउनका लागि आर्थिक अभाव भएकोले नाट्य समूहले सहयोगको अपिल गरेको हो ।

कोरोना भाइरसका कारण सरकारले लकडाउन जारी गर्नुभन्दा केही समयअघिदेखि नै बनाउँदै आइरहेको थिएटर काम यति बेला आर्थिक अभावले रोकिने अवस्थामा पुगेको नाट्य समूहले जनाएको छ । नाट्य समूहका अनुसार थिएटरको अनुमानित लागत करिव तीस लाख रहेको छ ।



पिछडिएका, अल्पसंख्य, लक्षित वर्ग र सीमान्तकृत समूहको पहिचान गरेर उनीहरूको आवश्यकतालाई पहिलो प्राथामिकता दिँदै नृत्य, संगीत तथा नाट्य सम्बन्धी सिपमूलक कार्यक्रम सञ्चालन गर्ने र समाजमा चलिआएको छाउपडी, छुवाछुत, दाइजो जस्ता विकृति र विभेदका विरूद्ध काम गर्ने उद्देश्यले आफूले केही साथीहरूसँग मिलेर केही महिनाअघि नेपाल सङ्गीत, नृत्य तथा नाट्य समूह बनाएको समूहका अध्यक्ष तथा नाट्यकर्मी शब्बु गुरूङले बताइन् । उनका अनुसार समाजमा पिछडिएका वर्ग, अपाङ्ग, असहाय, दलित, एकल महिला, दाइजो पीडित, एसिड पीडित तथा अग्नि पीडित महिला र वालवालिकहरूलाई प्राथामिकतामा राखी आवश्यकता अनुसार निःशुल्क नृत्य, संगीत तथा नाट्य विधाको कार्यशालामा सहभागी गराइने नाट्य समूहको उद्देश्य रहेको छ ।

बन्दै गरेकाे थिएटर

‘हामीले एउटा ड्रामा गरेर ड्रामामार्फत उनीहरूको ट्यालेन्टलाई समाजमा देखाउन सकियो भने अवसर पाउने हो भने सबैले गर्न सक्दारहेछन् भनेर समाजले बुझोस् भन्ने हो’ गुरूङले भनिन् ‘अहिले प्रायः हाम्रो समाजमा डिसेवलहरूले केही पनि गर्न सक्दैन ‘विचरा’ भन्ने गरिन्छ, त्यो सोच परिवर्तनका लागि पनि हामीले ड्रामामार्फत डिसेवल बच्चाहरूलाई पनि सहभागी गराई यस कामको सुरुवात गरेका हौं ।’ उनले अगाडि थपिन् ‘यहाँ (नेपाल मातृ गृह) अहिले विभिन्न ट्यालेन्ट भएका बालबालिकाहरू पनि छन् र यसभन्दा बाहिर हाम्रो समाजमा कहीं कतै यस्ता बालबालिकाहरू छन् भने हामी तिनीहरूलाई पनि अवसरका लागि निःशुल्क रूपमा प्लाटर्फम उपलब्ध गराउँछौं ।’

फरक क्षमता भएका बालबालिकाहरूको प्रतिभालाई समाजमा देखाएर उनीहरूप्रति समाजले हेर्ने दृष्टिकोण परिर्वतन गर्न आफूहरूले सहयोगदाताहरूको सहयोगबाट थिएटर बनाउन लागिएको नाट्य समूहकी कोषाध्यक्ष सुस्मा तामाङको भनाइ छ । थिएटर बनेपछि थिएटरमा पहिलो ड्रामा ‘इच्छा उस्तै’ देखाइने र त्यसका लागि अहिले देखि नै तयारी भइरहेको तामाङले बताइन् । उनकाअनुसार उक्त ड्रामाको तयारीको लागि अहिले नेपाल मातृ गृहमा रहेका अपाङ्ग बालबालिका, उनीहरूका अभिभावक साथै नाट्यकर्मीहरू पनि लागिरहेका छन् ।

बन्दै गरेकाे थिएटर

अपाङ्गता भएका बालबालिकाहरूको प्रतिभालाई नाटकमार्फत उजागर गर्ने उद्देश्यले बन्दै गरेको उक्त थिएटरका लागि सहयोग गर्न चाहनेहरूले ९८१०२४८२२९ र ९८०३३८७४७८ मा सम्र्पक गर्न सक्नुहुने छ । बैंकमार्फत् आर्थिक सहयोग गर्न चाहनेहरूले मेघा बैंकमा रहेको नेपाल सङ्गीत, नृत्य तथा नाट्य समूहको खाता नं. ११९००१०००५००३ मा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको पनि जनाइएको छ ।

सम्बन्धित समाचार