नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण भएको छ । अंगरक्षकलाई कोरोना संक्रमण भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् ।
शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुमाथि गरिएको परीक्षणका क्रममा एक जना अंगरक्षकमा कोरोना संक्रमण देखिएको हो । पौडेल र उनीसँगै स्वाब लिइएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।
ती अंगरक्षकलाई प्रहरी अस्पतालमा भर्ना गरिएको बुझिएको छ । भेटघाटमा सक्रिय पौडेल शनिबारसम्म पनि विभिन्न भेटघाटमा व्यस्त थिए । शनिबारमात्रै उनले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए ।
