नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
भारतले भगवान गौतम बुद्ध नेपालमा जन्मिएकोबारे कुनै विवाद नभएको प्रष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याउँदै यस्तो प्रतिक्रिया दिएको हो ।
जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’
जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए । प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको प्रतिक्रिया दिएपछि जयशंकरले प्रतिकारस्वरुप बुद्ध भारतीय भएको प्रतिक्रिया दिएको हुनसक्ने धेरैको अनुमान थियो ।