आज यी जिल्लामा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान जारी गरेको सूचना अनुसार पछिल्लो १ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा भारी वर्षा भएको छ ।

भारी वर्षासँगै सो क्षेत्रका चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रालगायत खोलामा आकस्मिक बहाब हुन सक्ने तथा होचा डुबान हुनसक्ने क्षेत्रमा सतर्क रहन केन्द्रले आह्वान गरेको छ । नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीमा सोमबारसम्म नै बहाव बढ्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।



जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारसम्म नै वर्षा भए पनि अब लगातार झरीको सम्भावना भने कम भएको जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो क्रम बुधबारसम्म नै कायम रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

सम्बन्धित समाचार