नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएकाे छ । बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेसम्म नखोल्ने निर्णय गरेको छ । बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
यसअघिको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।