गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पनाले प्रहरी सामु के बयान दिइन् ?

गोंगबुमा भएको विभत्स हत्याकाण्डकी अभियुक्त महिलाले आइतबार बिहान आफू बसेको घर क्षेत्रमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली आएपछि डराएर चितवन गएको बताएकी छन् । प्रहरीलाई दिएको बयानमा रोल्पाका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न भएको अभियोगमा चितवनबाट पक्राउ गरेकी कल्पना मुडभरी पौडेलले हत्यापछिको बिहान तालिम प्राप्त कुकुरसहित प्रहरी टोली आएको देखेपछि चिनेको एम्बुलेन्स चालकसँग छोराछोरीसहित चितवन गएको बताएकी छन्।

प्रहरीले सुटकेशमा आइतबार बिहान टाउको र खुट्टा बिनाको शव फेलापारेपछि शरीरका थप अंगको खोजीका लागि जोजो नाम गरेको तालिम प्राप्त कुकुर प्रयोग गरेको थियो । दुई छोरी र एक छोरा मध्ये कल्पनाको जेठी छोरीको गएको वर्ष विवाह भएको थियो । उनी गोंगबुमा कान्छी छोरी र छोरासँग बस्दै आएकी थिइन्।



गोंगबुमा भएको विभत्स हत्यामा संलग्न अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरी मंगलबार बिहान काठमाडौँ ल्याएको हो । आइतबार बिहान कुकुर देखेपछि छोराछोरी डराएकाले आफू चितवन गएको उनले प्रहरी समक्ष बयान दिएकी हुन्।

कृष्णबहादुरले आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गर्ने र कान्छी छोरीमाथि पनि नराम्रो दृष्टि लगाएकाले योजना नभए पनि हत्या गरेको उनले प्रहरीलाई दिएको बयानमा बताएकी छन् । कल्पना र उनका श्रीमानबिच विगत दुई वर्षदेखि सम्बन्ध राम्रो नरहेको पनि खुलेको प्रहरीले जनाएको छ ।

उनी बस्दै आएको घरका मालिक अमेरिका बस्ने र छोरीको बिहेमा साढे दुई लाख ऋण समेत प्रदान गरेको खुलेको छ । यस्तै उनले विगत एक वर्षदेखि घरभाडा पनि नतिरेको देखिएको छ ।

सम्बन्धित समाचार