नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

हिन्दु धर्मावलम्बी महिलाहरुले यसपालिको तिज घरमै बसेर मनाउनुपर्ने भएको छ । कोभिड-१९ संक्रमणको जोखिम बढ्दै जाँदा धार्मिकस्थलमा नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको हो । तिजसँगै यस वर्षको कुशेऔंसीमा पनि धार्मिक पीठ जान नपाइने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले जनस्वास्थ्यको रक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने भएकाले धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको हो ।
तिजलगायत चाडमा आफ्नै घरभित्र रहेर जनस्वास्थ्यका मापदण्ड पालना गरेर परिवारका सदस्यले मात्र मनाउन सरकारको आग्रह छ । यसपालिको तिज भदौ ५ गते परेको छ ।
