विष्णु शीतल
भर्जिनियाँ, अमेरिका, २९ साउन ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले एक विज्ञप्ति प्रकाशन गरी कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
कान्तिपुर दैनिकमा सेवारत वरिष्ठ पत्रकार बानियाको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उनको निधनले नेपाली पत्रकारितामा अपूरणीय क्षति पुगेको बताएको छ ।
स्वर्गीय पत्रकार बानियाँको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्बन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ । पत्रकारहरूका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस् भनी तत्कालै आफ्नो आपतकालीन कोषवाट १ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यस संकटको क्षणमा स्वर्गीय बानियाँको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्बद्ध संस्थाहरू तथा शुभेच्छुकहरूलाई आह्वानसमेत गरेको छ ।
