अघोषित लकडाउन : जनस्तरमा कस्तो छ प्रभाव ?

सरकारले चारमहिना लामो लकडाउन अन्त्य गरेको केही हप्तामै देशभर कोराना संक्रमितहरूको संख्या फेरि बढेको छ । हालसम्म नेपालमा संक्रमित हुनेहरूको संख्या झण्डै २५ हजार पुग्न लागेको छ भने मृत्यु हुनेहरूको संख्या ९५ पुगेको छ । पछिल्लो समयमा संक्रमणको जोखिम बढ्दै जानुको मुख्य कारण एक जिल्लाबाट अर्को जिल्ला जानेहरू बढ्नु, कोभिड–१९ विरूद्ध सरकारले जारी गरेको जनस्वाथ्य मापदण्डलाई नागरिकस्तरबाट प्रभावकारी ढङ्गमा कार्यन्वयन नहुनु र सरकारले पनि ठोस रूपमा पहल गर्न नसक्नु रहेको जन स्वास्थ्यविद्हरूको तर्क छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यहाँका व्यापार व्यवसायीहरू पनि आफूहरूले सावधानी अपनाइरहेको बताउँछन् । अधिकांश होटल तथा रेस्टुरेण्टहरूले ‘टेक अवे’ सेवा सञ्चालनमा ल्याएका छन्, भने पसलहरूमा मास्कको प्रयोग र भौतिक दूरी अनिवार्य गरेको पाइन्छ । संक्रमणको जोखिमलाई ध्यान दिंदै पसलमा आउँने ग्राहकसँग भौतिक दुरी कायम गरी पसल सञ्चालन गरिरहेको अनामनगरमा किराना पसल सञ्चालन गर्दै आएका रमेश शर्मा बताउँछन् । त्यस्तै, कालोपुलमा फेन्सी पसल सञ्चालन गर्दै आइरहेकी शान्ति श्रेष्ठ आफूले पसलमा आउने ग्राहकका लागि मास्क अनिवार्य भन्ने सन्देश बाहिर नै टाँसेर राखेको र मास्क लगाएर मात्रै पसलमा प्रवेश गर्न भन्ने गरेको बताउँछिन् ।



प्रायःजसो तरकारी बजार, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, मठ मन्दिर, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थलहरूमा मानिसहरूले सामाजिक दुरी खासै ख्याल गरेको देखिंंदैन । पछिल्लो समय सरकारले सार्वजनिक यातायातमा सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु राख्न मिल्ने भने पनि जोर बिजोर नियमका कारण सार्वजनिक यातायात त्यो नियम लागु भएको छैन ।

नाक तथा चिउँडोमुनि मास्क लगाउने २७ प्रतिशत
केही दिनअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नागरिकस्तरमा जनस्वास्थ्यका मापदण्ड पालना भएको छ–छैन भन्ने विषयमा व्यक्तिगत तह र संस्थागत तहमा गरी दुई तहमा सर्वेक्षण गरेको थियो । काठमाडौँ उपत्याकाभित्रका २३ वटा सार्वजनिक स्थलहरूमा ४ हजार ५ सय २ जनामा गरेको उक्त अध्ययनका क्रममा ७२.१ प्रतिशत मास्क लगाएको र २७.१ प्रतिशतले मास्क नलागाएको पाएको थियो । मास्क लगाउनेमध्येमा पनि २७.३४ प्रतिशतले नाक मुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउने गरेको पाइएको थियो ।

कोरोना भाइरस देखा परेको लामो समय भइसक्दा पनि कोरोना भाइरस विरूद्धको अहिलेसम्म कुनै औषधि या खोप बन्न सकेको छैन । त्यसैले पनि अहिलेसम्मको अनुभवलाई हेर्दा कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम, मास्कको सही प्रयोग र स्यानिटाइजर र साबुनले पटक पटक हात धुने कुरा नै अपरिहार्य हुन् । तर यी सावधानीहरू नागरिकस्ताबाट प्रभावकारी पालन नभएको र कोरोना संक्रमणको जोखिम झन बढ्दै गएको भन्दै सरकारले फेरि अघोषित लकडाउन गरेको छ । यतिबेला सरकारले केही प्रतिबन्धसहित नयाँ नियम जारी गरेकोे छ ।

यी हुन् सरकारले जारी गरेका नयाँ नियम
कोरोना भाइरस संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले सरकारले फुटपाथ, ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापार तथा कवाडी संकलनमा रोक लगाएको छ । सरकारले अत्यावश्यक बाहेक कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, भेलाजस्ता सामूहिक जमघट नगर्न र चाडपर्व घरभित्र मनाउन भनेको छ । साथै शैक्षिक संस्था, मनोरञ्जन स्थल, हेल्थ क्लब, समूहिक रूपमा खेलिने खेल, पुस्तकालयहरूमा पनि प्रतिबन्ध कायमै छ । गत साउन १५ बाट सबै होटल तथा रेष्टुरेन्ट खुला गरिएको भए पनि अहिले होटलहरूमा ‘टेक अवे’ सेवा मात्र दिने पाउने नियम लागु गरेको छ ।

उपत्यकाका तीन जील्ला बाहेक सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लाबाट अन्यत्र आवागमनमा रोक लगाएको छ भने सबै कार्यलयहरूमा आधा कर्मचारी मात्र कार्यालयमा बोलाउन र आधालाई ‘वर्क फ्रम होम’ गर्न भनेको छ । त्यसैगरी सरकारी तथा गैरसकारी निकाय, बैंक तथा वीत्त संस्था र जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने कार्यालय र संघसंस्थाले पचास प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो उपस्थित गराइ विद्युतीय माध्यमबाट सेवा दिनुपर्नेछ । त्यसैगरी सरकारले अन्तरजिल्लाका निजी तथा सार्वजनिक यातायात र आन्तरिक तथा बाह्य हवाई सेवा भदौ १५ गतेसम्मका लागि बन्द गरेको छ भने भारतबाट आउने प्रदेश बिन्दुलाई बीसबाट घटाएर दशमा झारेको छ ।

सम्बन्धित समाचार