नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । सो निर्णय राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् । दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ ।
लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ । उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ ।
सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ ।
कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो । आज सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको सूचनामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको उल्लेख छ । शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने भएको छ ।
