नवकान्तिपुर संवाददाता
काठमाडौं
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साढे ६ बजे गएको भीषण पहिरोले कम्तीमा २१ घर र ति घरमा रहेका सबै मानिसलाई पुरेको छ । वडाध्यक्ष प्रताप लामाले दिएको जानकारीअनुसार २१ घरमा रहेका सबै मानिस पुरिएका छन् ।
पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएको हो अझै एकिन भएको छैन । वडाध्यक्ष लामाका अनुसार एक घरमा कम्तीमा पाँच जना मानिस भएकाले ठूलो धनजनको क्षति भएको उनले बताए ।
जिल्लाको सबैभन्दा विकट वडा भएकोले हेलिकोप्टरबाट उद्धार टोली जाने तयारी भइरहेको छ । जनप्रतिनिधि गाउँमै भएपनि लिदी पुग्न पूरा एक दिन लाग्छ ।
जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले हेलकप्टरबाट उद्धारका लागि जाने तयारी भइरहेको जानकारी दिएका छन्। ‘के कसो भएको यकिन छैन। हेलिकप्टर लिएर उद्धारमा जाने तयारी गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘पहिरो गएको क्षेत्रको अवस्था अहिले नै भन्न सकिने स्थिति छैन।’