ओली–प्रचण्डबीच भयो यस्तो सहमति, लिखित मस्यौदा बनाउन कार्यदल गठन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवाद सहमतिमार्फत समाधान हुने भएको छ । आज अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्तामा मौखिक सहमति भएको स्रोतको दाबी छ ।

ओली र प्रचण्डबीच भएको मौखिक सहमतिलाई लिखित खाका बनाउने कार्यादेशसहित महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।



कार्यदलमा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय दोस्रो तहका नेता छन् । ओली पक्षबाट महासचिव पौडेल र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र पछिल्लो समय कतै नलागेका नेता भीम रावल कार्यदलमा छन् । त्रिपक्षीय कार्यदलले अध्यक्षद्धयबीच भएको मौखिक सहमतिलाई नेकपा विवादको अन्त्य गर्ने गरी थप परिमार्जन गर्दै लिखित सहमतिको खाका तयार गर्नेछन् ।

अध्यक्षद्वय ओली–प्रचण्डबीच भएको मौखिक सहमतिमा आगामी चैतमा पार्टी एकता महाधिवेशन गर्ने विषय मुख्य रहेको छ । महाधिवेशनको दिशातर्फ अगाडि बढ्न नै नेकपा शीर्ष नेताहरू सहमतिको बिन्दुमा आएका छन् । प्रधानमन्त्री ओली ५ वर्ष नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म प्रचण्डले पार्टीका काम कार्यकारी अधिकारसहित सम्हाल्ने, महाधिवेशनपछि ओलीले पार्टी अध्यक्ष छाड्ने, वैचारिक विषय सहमतिमा टुंग्याउने मौखिक सहमति दुवै अध्यक्षबीच भएको स्रोतले जनाएको छ ।

सरकारका कामलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने, सरकार सञ्चालनका लागि सचिवालय बैठकबाट प्रधानमन्त्रीले परामर्श गर्ने र सुझाव लिने शर्त समेत सहमतिमा समावेश रहेको जनाइएको छ । मन्त्रिमण्डल पुनर्गठन गर्दा सरकारमा २ वर्ष पूरा गरिसकेका सबैलाई बिदा गर्ने र नयाँलाई जिम्मेवारी दिने सहमति समेत भएको स्रोतले जनाएको छ ।

साथै ओली र प्रचण्डबीच २ जना प्रदेश मुख्यमन्त्री पनि परिवर्तन गर्ने मौखिक सहमति भएको बताइन्छ । पूर्व माओवादीतर्फका एक र पूर्व एमाले तर्फका एक गरी दुई मुख्यमन्त्रीलाई विदाइ गर्ने सहमति जुटेपनि को कोलाई विदाई गरिन्छ भन्ने सार्वजनिक गरिएको छैन ।

सम्बन्धित समाचार