मन्त्री र मुख्यमन्त्री फेर्ने ओली र प्रचण्डको तयारी, को को फेरिदै छन् ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झण्डै ५० दिनयता जारी विवादले समाधानको बाटो तय गरेसँगै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा जुट्ने भएका छन् । केन्द्रका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्नेगरी ओली प्रचण्डले तयारी थालेको स्रोतको दाबी छ ।

यत विहीबार र शुक्रबार वार्तामा बसेका ओली र प्रचण्डबीच चैतमा महाधिवेशन गरेर जारी विवाद समाधान गर्न सहमत भएका थिए । केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिवर्तन गर्ने र पार्टी तथा महाधिवेशनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिने र ओलीले सरकार सञ्चालनमामात्र ध्यान दिनेगरी कार्यविभाजन हुने भएको छ । ओलीले सरकार सञ्चालनको क्रममा दुरागमी महत्वका विषय र नियुक्ति तथा महत्वपूर्ण कदम चाल्दा पार्टीमा छलफल गर्नुपर्ने शर्तमा ५ वर्ष नै सरकार सञ्चालन गर्न दिने सहमति भएको छ ।



ओली र प्रचण्डबीच भएका सहमतिलाई थप परिमार्जन गर्न र लिखित रूपमा तयार गर्न शुक्रबार एउटा कार्यदल पनि बनेको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् । सोही कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका शीर्ष नेताहरुकोको भूमिका पनि परिभाषित गर्नेछ ।

त्यसैगरी ओली र प्रचण्डबीत जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने विषयमा पनि सहमति जुटेको छ । तर महाधिवेशनमा ओलीले अध्यक्षको उम्मेद्वारी नदिने र प्रचण्डलाई एकल अध्यक्षको रुपमा अगाडि सार्ने तथा महाधिवेशनपछि ओलीलाई सर्वोच्च नेताको रूपमा स्थापित गर्नेजस्ता विषयलाई प्रविधिक रूपमा कसरी सम्बोधन गर्ने भन्ने बारे कार्यदलले थप अध्ययनपछि निष्कर्ष निकाल्ने भनिएको छ । महाधिवेशनको मिति तोक्नेबारे भने गत माघ १५ देखि १९ सम्म बसेको केन्द्रीय समितिको बैठकले २०७७ चैत २५ देखि ३० सम्म एकताको महाधिवेशन गर्ने निर्णय गरेकाले सोही मितिमा नै महाधिवेशन सम्पन्न गर्नेमा ओली र प्रचण्ड सहमत छन् । यद्दपि कार्यदलले सो मितिमा कुनै प्रविधिक तथा परिस्थितिगत समस्या रहेको भए एकदुईदिन तलमाथि गर्न सक्ने बताइएको छ ।

मन्त्री र मुख्यमन्त्री तत्काल परिवर्तन गरिने
सरकारका काम कारवाहिबारे चौतर्फी आलेचना बढेकोले ओली प्रचण्ड तत्काल ३ मुख्यमन्त्री र केही मन्त्री परिवर्तन गर्ने भएका छन् । स्रोतका अनुसार पूर्व एमालेका २ र पूर्व माओवादीतर्फका १ मुख्यमन्त्री फेरिने सम्भावना रहेको छ । माओवादीको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा रहेको बताइन्छ । यता पूर्वएमालेको तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईमध्ये २ जनालाई विदाई गर्ने तयारी छ ।

नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य पहिलो नम्मरमा रहेको बताइन्छ । उनलाई डोरमणीको ठाँउमा बागमति प्रदेशको मुख्यमन्त्री बनाउने लगभग निश्चित रहेको बताइन्छ । त्यसैगरी २ वार्ष कार्यकाल पार गरेका मन्त्रीहरुलाई पनि विदाई गर्ने विषयमा ओली र प्रचण्ड सहमत देखिएका छन् । सञ्चार र सहरीविकाश मन्त्रालय पनि खाली रहेकोले ति सहित १० नयाँ मन्त्री नियुक्ती गर्ने तयारी थालीएको स्रोतको दाबी छ ।

नयाँ मन्त्रीहरूमा पुर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल, देव गुरुङ, पम्फा भूषाललगायतको चर्चा छ । त्यसैगरी पूर्वएमालेको तर्फबाट बेदुराम भूषाल, भीम रावल, खगराज अधिकारी, सुरेन्द्र पाण्डे, महेश बस्नेतलगायतको चर्चा छ । त्यसो त पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीपरिषद्मा सहभागि गराउने ओलीको चाहना भए पनि त्यसबारे पार्टीमा थप छलफल गरेर निर्णय लिइने भएको छ ।

सम्बन्धित समाचार