आजदेखि ५ दिनका लागि निषेधाज्ञा, जनजीवन ठप्प

निषेधाज्ञा जारी भएपछि शनिबार बिहानदेखि चितवनको भरतपुर महानगरपालिका क्षेत्रको जनजीवन ठप्प भएको छ । नगर क्षेत्रमा स्थानीय प्रशासनले शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो। शनिबार बिहान भरतपुर क्षेत्रमा उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्रामा चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।



निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरभित्रै बसेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइने स्थानीय प्रशासनले जनाएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने चेतावनी दिइएको छ । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

हालसम्म महानगरभित्र एक सय जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको छ भने अन्य निको भएका छन् । महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिइन् ।

सम्बन्धित समाचार