नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

कान्तिपुर मिडिया ग्रुपको मासिक प्रकाशन ‘नारी’ को सम्पादकमा उपासना घिमिरे नियुक्त भएकी छन् । कोरोना भाइरसको महामारीका कारण केही समय रोकिएको नारी मासिकको प्रकाशन भदौदेखि पुनः सुरु हुँदैछ ।
महिलाका विषयहरुलाई केन्द्रमा राखेर सामग्री प्रकाशित गर्ने नारी मासिकले पहिलोपटक महिला नै सम्पादक पाएको हो । अन्तिम पटक प्रकाशित भएको नारीको चैत अंकसम्म घिमिरे सम्पादकीय संयोजक थिइन् । कान्तिपुर मिडिया ग्रुपले नारीको प्रकाशन पुनः थाल्ने भए पनि सँगै रोकिएका नेपाल साप्ताहिक र साप्ताहिकको प्रकाशन भने सुरु भएको छैन ।
नारीको सम्पादकमा नियुक्त भएकी घिमिरेले भनिन्, ‘अहिलेको समय सबैका लागि चुनौतिपूर्ण छ । यस्तो बेला मैले जिम्मेवारी पाएकी छु । सबै क्षेत्र र वर्गका महिलालाई समेट्ने गरी नारीका आउँदा अंकहरुमा सामग्री समेट्ने प्रयास गर्ने छौँ ।’
उनले भनिन्, ‘नारी म्यागजिन शहरका महिला केन्द्रित भयो, फेसनका कुरालाई बढी प्राथमिकता दियो भन्ने आरोप लाग्ने गरेको थियो । अब हामीले ग्रामीण क्षेत्रका महिलाहरुका अनुभव, कथा र समस्याहरुलाई पनि विशेष स्थान दिने छौँ । भोलि ९भदौ १० आउने अंकमा पनि त्यसको प्रयास गरेका छौँ ।’
